२०८१ भदौ ३१ , सोमवार

दसैंमा यो बर्ष नयाँ नोट साट्न नपाइने, सुकिला नोटमात्रै साट्न पाइने राष्ट्र बैंकको भनाइ

New Note

सुनाखरी न्युज/ काठमाडौं ।
नेपाल राष्ट्र बैंकले यसपालिको दसैंमा सर्वसाधारणका लागि हाल प्रयोग गरिरहेकै चलनचल्तीका योग्य नोट सटही दिने भएको छ। सफा र सुकिलो नोटको मौज्दात रहुञ्जेलसम्म नयाँ नोटको सटही नदिने निर्णय राष्ट्र बैंक व्यवस्थापनले गरेको हो। सटही दिएका नोटको अधिक माग हुने र सटही व्यवस्थापनसमेत झण्झटिलो हुने गरेको थियो।

राष्ट्र बैंकले विगतका वर्षहरूमा नयाँ नोटको सटही दिने गरेको थियो। यसपटक भने प्रयोगमा आइसकेका सुकिलो वा सफा नोट साट्न पाइने नेपाल राष्ट्र बैंकका सहायक प्रवक्ता डिल्लीराम पोखरेलले बताए।

 

दसैंको मुखमा सटही गरिएका नोट चाडबाड सकिएपछि बैंक तथा वित्तीय संस्थामा फिर्ता आउने र तत्पश्चात ती नोटको माग ज्यादै न्यून हुने भएकाले ढुकुटीमा लामो समय थन्क्याएरै राख्नुपर्ने अवस्था रहने नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका निर्देशक वासुदेव भट्टराईले बताए।

नेपाली नोटकोे कागज ‘कटन बेस्ड’ हुने र लामो समय प्रयोगविहीन भई ढुकुटीमा भण्डारण हुँदा ती नोटमा चिसो, ओस तथा अपर्याप्त हावा र प्रकाशका कारण ढुसी आउने गर्दछ। यस्तो हुँदा नोटको आयुसमेत घट्दै जाने भई पुनःप्रयोग गर्न अयोग्य हुन सक्दछ।

चाडबाडका समयमा मुख्यतयाः रु ५, १०, २०, ५० र १०० दरका नोटहरूको माग अत्यधिक हुने गरेको छ। साना दरका यस्ता नोटको होल्डिङ लागतसमेत न्यून हुने हुँदा सर्वसाधारण तथा व्यावसायिक क्षेत्रले आवश्यकताभन्दा बढी नोट सटही गरी क्रमशः कारोबारको आवश्यकता पूरा गर्ने तथा घरमै राख्ने प्रचलन रहेको पाइन्छ।