२०८१ आश्विन ५ , शनिवार

चलचित्र “मिसिङ्गः केटी हराएको सूचना” को मिति तथा टिजर सार्बजनिक

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाली चलचित्रको परिवेश बदल्ने भिजन लिएर दुई दशकपछि नेपाल फर्किएका चर्चित निर्देशक दीपेन्द्र गौचनले नयाँ चलचित्र “मिसिङ्गः केटी हराएको सूचना” घोषणा गरेका छन् । उक्त चलचित्र मिति २०८१ कार्तिक ३० गते रिलिजमा आउने जानकारी गराएका छन्।उजेलीः ए चाइल्ड ब्राइड इन नेपाल र विश्व फिल्म उद्योगमा योगदानका लागि प्रशंसित कामका लागि परिचित गौचनले आफ्नो नयाँ उद्यम ट्राइ–सिटी पिक्चर्सको साथ नेपाली चलचित्र क्षेत्रमा तरंग ल्याउन तयार भएका छन् ।

गौचन र नकिम उद्दिनले मिलेर स्थापना गरेको ट्राइ–सिटी पिक्चर्सले मनोरञ्जन मात्र नभई सामाजिक रूपमा प्रभाव पार्ने चलचित्र निर्माण गर्ने लक्ष्य राखेको छ ।गौचनको सन २०२५ को भिजनमा नेपाली सिनेमालाई एक फस्टाउँदो, विश्वव्यापी रूपमा मान्यता प्राप्त उद्योगमा रूपान्तरण गर्ने समावेश छ । नेपालको तराई क्षेत्रको जीवन्त पृष्ठभूमिमा आधारित यस ब्यानर अन्तर्गतको पहिलो चलचित्र, मिसिङः केटी हराएको सूचना, यही दृष्टिकोणको प्रमाण हो ।

यस चलचित्रमा पहाडी समुदायका युवती र मधेसी समुदायकी युवाको रहनसहन र मेलमिलापको बारेमा कथा कोरिएको छ ।यस चलचित्रका लेखक÷निर्माता÷निर्देशक दीपेन्द्र गौचनले चलचित्र मिसिङ्गको निर्माणका लागि पाएको प्रेरणाको बारेमा आफ्नो अनुभव साटेका छन्। “नेपाल फर्केर मैले धेरैजसो फिल्म पहाड र हिमाली क्षेत्रमा बनाइएको देखेँ । यी क्षेत्रहरू प्रतिष्ठित भए पनि म तराईको सौन्दर्य र यसको समृद्ध सांस्कृतिक विविधता देखाउन चाहन्थें,” निर्देशक गौचनले भने, “यो फिल्म मेरो मनको नजिक छ किनभने यसले पारम्परिक र जातीय सीमानाहरू पार गर्ने, विविधताको बीचमा समानता खोज्ने कुराको प्रतिनिधित्व गर्दछ।”

चलचित्रमा सीताको भूमिकामा सृष्टि श्रेष्ठ (जस्सीता/जेसी) रहेकी छन भने रामको भूमिकामा नाजिर हुसेन (रामबरन÷र्याम्बो) रहेका छन् । त्यसैगरी विलासको भूमिकामा संजय मिश्रा तथा अमितेश शाह (क्यामियो) टिकट बिक्रेताको रोलमा रहेका छन् । यस बाहेक जनकपुरबाट थप स्थानीय कलाकारहरूले विभिन्न भूमिका निभाएका छन् ।चलचित्रको कार्यकारी निर्मातामा नकिम उद्दीन, छायांकनमा अमर महर्जन, सम्पादनमा निमेश श्रेष्ठ, कला निर्देशनमा अक्की थेक्पा, साउण्ड डिजाइनमा श्रावल आरपी, र म्यूजिक कम्पोजरका रुपमा क्रिस मसन्ड रहेका छन् ।चलचित्रको टिजर – https://www.youtube.com/watch?v=FgdFAfIOUHc