२०८१ मंसिर ८ , शनिवार

लुम्बिनीका सांसद धनबहादुर केसी कारागार चलान

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

लुम्बिनी प्रदेशका सांसद धनबहादुर (डीबी) केसी ले आत्मसमर्पण गरेका छन् । आइतबार रुकुम पूर्व जिल्ला अदालत पुगेर कांग्रेस सांसद केसीले आत्मसमर्पण गरेका हुन् । उनलाई आजै कारागार चलान गरेको प्रहरीले जनाएको छ । लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता एसएसपी माधव श्रेष्ठले सांसद केसीलाई अदालतमा उपस्थित गराइएको र आइतबार नै उनलाई कारागार चलान गरेको जानकारी दिए ।

३३ वर्ष पहिले उनलाई साविक रूकुम जिल्ला अदालतले किर्ते मुद्दामा दोषी ठहर गर्दै एक वर्ष कैद र दुई हजार जरिवानाको फैसला सुनाएको थियो।त्यसयता उनी फरारको सूचीमा रहँदै आएका थिए।श्रीमतीसँगको अंश मुद्दामा प्रदेश सांसद केसीले किर्ते गरेको अभियोगमा साविक रूकुम जिल्ला अदालतमा मुद्दा परेको र त्यसमा उनी दोषी ठहर भई अदालतले एक वर्ष कैद र दुई हजार रुपैयाँ जरिवाना गरेको थियो।

हालसम्म उनले सजाय भुक्तान गरेका थिएनन्।गत निर्वाचनमा केसी नेपाली कांग्रेसको तर्फबाट रूकुम पूर्वको प्रदेश सभा क्षेत्र १ को १ बाट निर्वाचित भएका थिए। त्यसपछि फेरि भुक्तान गर्न बाँकी सजायका बारेमा चर्चा सुरू भएको थियो।राजनीतिमा लाग्नुपूर्व उनी अवैध मार्ग हुँदै मानिस अमेरिका पठाउने काममा सक्रिय रहेको आरोप थियो।पछिल्लो समय नेपाल कम्युनिष्ट पार्टी (बहुमत) दाङले केसीसहित विभिन्न आरोप खेपेका लुम्बिनी प्रदेशका दुई सांसदलाई कानुनी कारबाहीको माग गर्दै चरणबद्ध आन्दोलन गर्दै आएको थियो।

केसी कारागार चलान भएसँगै उनको पद के हुन्छ भन्ने विषय पनि छ।संविधानको धारा १७८ मा प्रदेश सभा सदस्यका लागि योग्यता तोकिएको छ।जसको ‘घ’ मा भनिएको छ, ‘नैतिक पतन देखिने फौजदारी कसुरमा सजाय नपाएको।’ लुम्बिनी प्रदेश संसद सचिवालयका एक कर्मचारीले भने सांसद केसी कारागार चलान भएको पत्र सभामुखलाई प्राप्त भएपछि स्वत: पदमुक्त हुने दाबी गर्छन्।