२०८१ मंसिर १० , सोमवार

उपसभामुख इन्दिरा रानालाई हटाउनेबारे सत्तारुढ दलमा छलफल

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

सत्तारूढ दलहरूले उपसभामुख इन्दिरा राना मगरलाई हटाउन प्रस्ताव दर्ता गर्ने तयारी गरेका छन्। सोमबार साँझ प्रधानमन्त्री केपी ओलीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ दलको बैठकमा उनलाई हटाउने विषय उठेको बैठकमा सहभागी एक नेताले पुष्टि गरे । तर, हटाइहाल्ने कि कसरी अघि बढ्ने भन्नेबारे ठोस निर्णय भने नभएको ती नेताको भनाइ छ ।

सो विषय प्रधानमन्त्री केपी ओलीले नै उठाएका थिए ।ओलीले यो विषय उठाएपछि एमालेबाटै बैठकमा सहभागी अन्य नेताहरूले पनि रानालाई हटाउने विषयमा बढी जोड दिएका थिए ।  यसबारे थप गृहकार्य गरेर निष्कर्षमा पुग्ने नेताहरूले बताएका छन् । रास्वपाबाट उपसभामुख बनेकी इन्दिराबारे प्रश्न उठेको र उनलाई हटाएर संवैधानिक परिषद्मा सत्तापक्षलाई बलियो बनाउने एमालेको रणनीति छ ।

प्रधानमन्त्री ओलीले संवैधानिक परिषदको निर्णय ‘कम्फर्टेबल’ हुनुपर्ने भन्दै प्रक्रिया पूरा गरेर उपसभामुख हटाउनुपर्ने बताएका थिए।सदस्यहरू मध्ये प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाल, उपसभामुख राना सरकारको विपक्षमा छन्। यसो हुँदा दुवैतिर ५०/५० प्रतिशत हुने र निर्णय गर्न कठिन हुने भन्दै प्रधानमन्त्री ओलीले उपसभामुखविरूद्ध महाभियोग प्रस्ताव गरेका हुन्।