२०८१ मंसिर १० , सोमवार

४२ दिने शिशुको हातबाट जुस पिएर केदार कार्कीले तोडे अनशन

kedar-karki-1

सुनाखरी न्युज/ विराटनगर ।

कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले अनशन तोडेका छन् । सरकारसँगको सहमतिपछि कार्कीले  ४२ दिने शिशुको हातबाट जुस पिउँदै उनले अनशन तोडेका हुन् ।

 

विराटनगर महानगरपालिका-६ की निर्मला शर्माका ४२ दिनका छोरा उपचारको खर्च अभावमा ७ दिन विराट नर्सिङहोम बस्न बाध्य थिए । उनलाई कार्कीकै पहलमा अस्पतालबाट डिस्चार्ज गरेर घर लगिएको थियो । बुधबार राति सरकारसँगको सहमतिपछि उनै शिशुको हातबाट उनले जुस पिएका हुन् । कार्कीले मंगलबारबाट अनशन सुरु गरेका थिए ।

१० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचारको मागसहित अनशनमा बसेका कार्कीले उठाएका ९ बुँदे माग पूरा गर्न सरकार तयार भएको सन्देश लिएर आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगर र आन्तरिक मामिला तथा कानुनमन्त्री लीलावल्लभ अधिकारी अनशनस्थल पुगेका थिए । मन्त्री अधिकारीले पूर्वमुख्यमन्त्री कार्कीले उठाएको माग सम्बोधन गर्न सरकार तयार रहेको बताए ।