२०८१ मंसिर ९ , आइतवार

पेरूका पूर्व राष्ट्रपति अल्बर्टो फुजिमोरीको निधन

Capture

सुनाखरी न्युज/ काठमाडौं।

पेरुका पूर्वराष्ट्रपति अल्बर्टो फुजिमोरीको बुधबार राजधानी लिमामा ८६ वर्षको उमेरमा निधन भएको छ ।“क्यान्सरसँग लामो लडाइँ पछि बुबा अल्बर्टो फुजिमोरी प्रभुलाई भेट्न भर्खरै प्रस्थान गर्नुभएको छ,” फुजिमोरीकी छोरी केइकोले सामाजिक सञ्जाल एक्समा लेख्नुभएको छ ।

गत अगस्टमा जिब्रोको क्यान्सरको उपचार पूरा गरेपछि फुजिमोरीको स्वास्थ्य अवस्था निकै बिग्रिएको उहाँको परिवारनिकट स्रोतले बुधबार एएफपीलाई बताएको थियो ।लिमाको मिराफ्लोरेस जिल्लाको एक क्लिनिकबाट निस्कँदै गर्दा उहाँलाई अन्तिम पटक बिहीबार सार्वजनिक रूपमा देखिएको थियो।सन् १९९० देखि सन् २००० सम्म पेरुको राष्ट्रपति बनेका फुजिमोरीलाई डिसेम्बरमा मानवीय आधारमा जेलबाट रिहा गरिएको थियो।

उहाँले पेरूको शाइनिंग पाथ र टुपाक अमारु वामपन्थी विद्रोही विरुद्धको युद्धमा सरकारी सेना शाइनिङ पाथ र टुपाक अमारु वामपन्थी आन्दोलनलाई दबाउने भूमिकाका लागि समर्थकले उहाँलाई एक सफल राजनीतिज्ञका रूपमा सम्झिने गर्छन् भने पेरुका शाइनिङ पाथ र टुपाक अमारु वामपन्थी विद्रोहीले उहाँलाई एक निरङ्कुश शासकको रूपमा हेर्ने गर्छन् ।सरकारी सत्यनिरूपण आयोगका अनुसार सन् १९८० देखि सन् २००० सम्मको अवधिमा ६९ हजारभन्दा बढीको मृत्यु भएको थियो भने २१ हजार बेपत्ता भएका थिए ।

सन् १९९१ र सन् १९९२ मा सेनाको ‘डेथ स्क्वाड’ले गरेको नरसंहारमा एक बालकसहित २५ जनाको मृत्यु भएको आरोपमा सन् २००९ मा जापानी मूलका फुजिमोरीलाई जेल पठाइएको थियो ।सन् २०१७ को डिसेम्बरमा तत्कालीन राष्ट्रपति पेड्रो पाब्लो कुजिन्स्कीले फुजिमोरीलाई उहाँको खराब स्वास्थ्यका कारण उपचारका लागि जेल सजाय माफी गरिदिनुभएको थियो ।तर पछि सर्वोच्च अदालतले माफी खारेज गरेको र जनवरी २०१९ मा उहाँ अस्पतालबाट जेल फर्काइएको थियो।

तर, सन् २०२३ को डिसेम्बरमा अदालतले उनलाई पुनः माफी दिएपछि उहाँलाई रिहा गरिएको थियो ।सन् १९९६ को अन्त्यदेखि सन् १९९७ को सुरुमा लिमास्थित जापानी दूतावासमा चार महिनासम्म बन्धक बनाइएको घटना उहाँको राष्ट्रपतिकालको सबैभन्दा नाटकीय घटना थियो।फुजिमोरीले पठाएको कमाण्डोले १४ विद्रोहीलाई मारेको थियो भने सबै ७२ जना बन्धकको उद्धार गरेको थियो ।शासनको पछिल्ला वर्षहरूमा उहाँको गुप्तचर प्रमुख भ्लादिमिरो मोन्टेसिनोसको संलग्नता रहेको घूस काण्डमा संलग्नताको आरोप पनि उहाँमाथि लागेको थियो ।

रासस/एएफपी