२०८१ मंसिर ८ , शनिवार

१०औं राष्ट्रिय खेलकुद प्रतियोगिता निर्धारित समयमै हुन्छ : खेलकुदमन्त्री चौधरी

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले कर्णालीमा हुने १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता निर्धारित समयमै हुने बताएका छन् । शनिबार काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।१०औं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंसिर २ देखि ९ सम्म कर्णालीको सुर्खेतमा आयोजना गरिएको छ । १०औं राष्ट्रिय खेलकुदका लागि सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–८ मा बन्दै गरेको रङ्गशाला निर्माणको काम अन्तिम चरणमा पुगेको पनि मन्त्री चौधरीले बताए ।

मन्त्री चौधरीले भने, ‘पहिलोपल्ट कर्णाली प्रदेशको आफ्नै लगानीमा सुर्खेतमा रङ्गशाल निर्माण हुँदैछ । कर्णाली प्रदेशका मुख्यमन्त्री,खेलकुद मन्त्री सबैको जोश–जाँगर छ । संघीय सरकारले ६० करोड रूपैयाँ बजेट छुट्याएको छ । १०औं राष्ट्रिय खेलकुदको गतिविधि अब व्यापक रूपमा सुरुवात हुन्छ’रङ्गशालाको भौतिक पूर्वाधार विकासका विषयमा केही दिनअघि आफैंले सम्पर्क गरेर बुझेको बताउँदै उनले दशैं अगाडि भौतिक पूर्वाधार व्यवस्थापनको सबै काम सकिने बताए । खेललाई कसरी राम्रो र व्यवस्थित बनाउने सन्दर्भमा आफूहरु लागिरहेको उनको भनाइ छ ।

१०औं राष्ट्रिय खेलकुद प्रतियोगिताको समापनमै ११औं राष्ट्रिय खेलकुलको घोषणा हुने उनले बताए । मन्त्री चौधरीका अनुसार ११औं राष्ट्रिय खेलकुद मधेश प्रदेशमा हुनेछ ।१०औं राष्ट्रिय खेलकुद प्रतियोगितामा ३६ वटा खेल समावेश गरिएको उनले बताए । मन्त्री चौधरीका अनुसार २२ देखि २४ वटा खेल सुर्खेतमा हुनेछ । बाँकी खेल नेपालगञ्ज अथवा काठमाडौंमा हुने मन्त्री चौधरीले बताए ।मन्त्री चौधरीले खेलकुदका क्षेत्रमा सरकारले सबैभन्दा कम बजेट विनियोजन गर्ने गरेकाले सोचेअनुरुपको काम गर्न नसकिएको बताए । अहिले संघीय सरकारको २१ वटा मन्त्रालयमध्ये खेलकुद मन्त्रालयमै सबैभन्दा कम बजेट रहेको उनले सुनाए ।

‘खेलकुदमा सबैभन्दा कम बजेट विनियोजन हुन्छ । २१ वटा मन्त्रालयमध्ये सबैभन्दा कम बजेट यसैमा छ । त्यसकारण तालिम सञ्चालन गर्न,खेलाडीलाई तलब दिन त्यति सजिलो छैन । विभिन्न संघहरुले आफ्नै किसिमको तलब निर्धारण गरेर दिइराखेका छन्,’ उनले भने ।मन्त्री चौधरीले मूलपानीमा रहेको अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको डीपीआर तयार भइसकेको र बहुवर्षीय योजनाका लागि राष्ट्रिय योजना आयोगमा यही हप्ता पेश हुने बताए । सरकारले रकमको सुनिश्चितता गरिसकेपछि कार्यक्रम सुरु हुने उनले बताए ।

वर्तमान सरकारको पहिलो निर्णय कीर्तिपूर रंगशाला ३ सय दिनमा तयारी गर्ने पहिलो निर्णय गरेको बताउँदै उनले त्यसका लागि २० करोड रुपैयाँ छुट्याइएको बताए । उक्त कामको टेन्डर गर्न बाँकी रहेको उनले बताए ।उनले कीर्तिपुर क्रिकेट रंगशालाको कामको थप प्रगतिका लागि खेलकुद मन्त्रालय र खेलकुद परिषद्ले सहरी विकास मन्त्रालयलाई जिम्मा दिएको बताए । ‘३ सय दिनमा खेलकुद मन्त्रालय अथवा राष्ट्रिय खेलकुद परिषद्बाट सम्भव नदेखिएको हुनाले कहाँबाट छिटो काम हुन्छ भनेर हामीले त्यो रकम सहरी विकास मन्त्रालयमा ह्याण्डओभर गरेका छौं । उहाँहरु कामको नजिक–नजिकमा हुनुहुन्छ । टेन्डर गर्नै बाँकी छ । तीन पटकमा काम गर्नुपर्ने शर्तमा टेन्डर हुँदैछ ।’ उनले भने ।