२०८१ आश्विन ३ , बिहिवार

सहकारीको रकम अपचलनमा रविको संलग्नता पुष्टि, कारबाही सिफारिस गर्ने तयारी

rabi

सुनाखरी न्युज/ काठमाडौं ।

संसदीय छानबिन समितिले सहकारीको रकम गोर्खा मिडिया नेटवर्क मार्फत भएको अपचलनमा रवि लामिछानेको संलग्नता रहेको निष्कर्ष निकालेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति समेत रहेका लामिछानेलाई कारबाहीका लागि लेखिपठाउने समितिको निष्कर्ष छ ।सूर्य थापा नेतृत्वको संसदीय छानबिन विशेष समितिले आफ्नो प्रतिवेदन आज बुझाउने तयारी गरेको छ ।

समितिका सदस्य लेखनाथ दाहालका अनुसार सहकारीको रकम जीबी राईले गोर्खा मिडिया नेटवर्कमा पुर्‍याउने काम गरेका थिए । तर त्यसरी आएको रकम भने रवि मार्फत खर्च भएको छ । गोर्खा मिडियामा जीबी राई अध्यक्ष र रवि प्रबन्ध निर्देशक थिए ।गोर्खा मिडियाका तीन सञ्चालक (जीबी, रवि र छविराज जोशी)ले संयुक्त खाता खोलेका थिए । तर रवि प्रबन्ध निर्देशक रहेको १४ महिनाको अवधिमा एउटा चेक बाहेक सबैमा रवि लामिछानेले नै हस्ताक्षर गरेको पाइएको छ ।

छलफल गर्दै जाँदा रास्वपा सभापति लामिछानेले तत्कालीन गोर्खा मिडिया नेटवर्कमा प्रबन्ध निर्देशकका रुपमा खर्च गरेको सहकारीको रकमबारे समिति सदस्यहरु एकमत भएर निष्कर्षमा पुगेका थिए ।समितिले गोर्खा मिडियामा रविले लिएको १५ प्रतिशत शेयरलाई गैरकानुनी भनेको छ ।

त्यो शेयर गैरकानुनी हुँदाहुँदै रविले किन लिए भन्ने प्रश्न समेत प्रतिवेदनमा उठाइएको छ ।समितिका एक जना सदस्यले दिएको जानकारीअनुसार सोमबार दिउँसो प्रतिनिधि सभामा संसदीय छानबिन समितिले तयार पारेको प्रतिवेदन पेस गर्ने तयारी छ।