२०८१ मंसिर १३ , बिहिवार

उपप्रधानमन्त्री सिंह र विश्व बैंकका उच्च अधिकारीबीच भेटवार्ता

Capture
सुनाखरी न्युज/ काठमाडौं ।
उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह र विश्व बैंकका उच्च अधिकारीहरुबीच भेटवार्ता भएको छ । सहरी विकास मन्त्रालयमा आज भएको उक्त भेटमा विश्व बैंकसँगको सहकार्यमा सहरी विकास मन्त्रालयअन्तर्गत सञ्चालित नेपाल सहरी शासकीय तथा पूर्वाधार आयोजनाका विषयमा छलफल भएको थियो ।
भेटमा उपप्रधानमन्त्री सिंहले काठमाडौँ उपत्यकामा विश्व बैंकको सहकार्यमा मन्त्रालयले काम गर्न चाहेको उल्लेख गर्दै सहकार्यका लागि आग्रह गर्नुभएको थियो । “विश्व बैंकले काठमाडौँ उपत्यकामा पनि यसपटक कुनै आयोजनामा काम गरोस् । उपत्यकामा काम गर्दा त्यसको सन्देश देशभर जान्छ,” उपप्रधानमन्त्री सिंहले भन्नुभयो ।
काठमाडौँ उपत्यकाका नदीनाला व्यवस्थित गर्ने, सांस्कृतिक सहरका रुपमा उपत्यकालाई विकास गर्ने, जलवायु परिवर्तन र पूर्वाधार विकासका क्षेत्रमा सहकार्य गर्न उपप्रधानमन्त्री सिंहले जोड दिनुभयो । सो अवसरमा विश्व बैंककी नेपाल, माल्दिभ्स र श्रीलङ्काका लागि अपरेसन म्यानेजर प्रिति अरोराले नयाँ योजनामा उपत्यकामा काम गर्ने उपप्रधानमन्त्री सिंहको प्रस्तावमा सकारात्मक रहेको बताउनुभयो ।   रासस