२०८१ मंसिर १० , सोमवार

‘नेसनल डे कन्सर्ट’ का लागि दरबारमार्गमा स्टेज बनाइँदै

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

संविधान दिवसका अवसरमा आयोजना गरिने कार्यक्रमका लागि मञ्च निर्माण गर्नुपर्ने भएकाले दरबारमार्ग क्षेत्रमा सवारी आवागमन रोक लगाइएको छ । भोलि (असोज ३ गते) संविधान दिवसको अवसरमा दरबारमार्गमा नागरिकस्तरबाट आयोजना हुने ‘नेशनल डे कन्सर्ट’ का लागि मञ्च निर्माण भइरहेकाले उक्त क्षेत्रमा सवारी आवागमन बन्द गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार बिहीबार दिउँसाे २ बजे सम्मका लागि केशरमहल चोकबाट दक्षिणगेटतर्फ जाने सवारीसाधनलाई जमलतर्फ, जयनेपाल चोकबाट दक्षिणगेटतर्फ आउने सवारी साधनलाई कृष्ण पाउरोटीतर्फ र महेन्द्र सालिक चोकबाट दक्षिण गेटतर्फ जाने सवारीसाधनलाई घण्टाघरतर्फ ‘डाइभर्सन’ गरिएको छ । बिहीबार साँझ नारायणहिटी दरबार अगाडिको सडकमा साङ्गीतिक कार्यक्रमको आयोजनाका लागि अहिले धमाधम मञ्च निर्माण, सरसफाइलगाय काम भइरहेका छन् ।

सरकारले असोज ३ गतेको संविधान दिवसको मूल समारोह टुँडिखेलमा आयोजना गर्ने र सोही दिन साँझ नारायणहिटी दरबार अगाडिको सडकमा साङ्गीतिक कार्यक्रम गर्ने निर्णय गरेको थियो ।कन्सर्टमा आनन्द कार्की, कुन्ती मोक्तान, देविका बन्दना, सुगम पोखरेल, दीपक लिम्बू, प्रमोद खरेल, सुवानी मोक्तान, स्वप्न सुमन लगायत गायक-गायिका सहित चर्चित ब्यान्डहरू कुटुम्ब र एलिमेन्ट्सले समेत प्रस्तुति दिनेछन् ।