उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपाली कांग्रेसका संस्थापक एवं २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमाण्डर लौहपुरुष गणेशमान सिंहको सालिकमा माल्यार्पण गर्नुभएको छ ।उपप्रधानमन्त्री सिंहले आज बिहान शोभाभगवतीस्थित गणेशमान सिंहको सालिकमा माल्यार्पण गर्नुभएको हो । माल्यार्पणपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले नेपालको प्रजातान्त्रिक आन्दोलनमा स्वर्गीय सिंहको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो ।
“नागरिकलाई अधिकार सम्पन्न बनाउन सिंहले १५ वर्षभन्दा लामो समय जेल जीवन बिताउनुभएको थियो । उहाँले जनताको अधिकारका सम्बन्धमा कसैसँग सम्झौता गर्नुभएन”, उपप्रधानमन्त्री सिंहले भन्नुभयो । नेपालमा प्रजातन्त्र स्थापना गर्न र प्रजातन्त्र स्थापनापछि तत्कालीन राजाले ‘कु’ गरेपछि प्रजातन्त्र पुनःस्थापनाका लागि नेतृत्व गरेको नेताका रुपमा गणेशमान सिंहलाई सम्झने गरिएको उहाँले बताउनुभयो ।
मुलुकमा जनतालाई सार्वभौमसत्ता र अधिकारसम्पन्न बनाउन सिंहमा प्रतिबद्धता र समर्पण भावना रहेकाले जनताका बीच रुचाइएका नेताका रुपमा परिचय बनाउन सक्नुभएको उपप्रधानमन्त्री सिंहले उल्लेख गर्नुभयो ।
कार्यक्रममा नेपाली कांग्रेस काठमाडौँका सभापति सबुज बानियाँ, पूर्वरक्षामन्त्री भीमसेनदास प्रधान, कांग्रेस ललितपुरका सभापति जीतेन्द्र श्रेष्ठलगायत कांग्रेसका नेता तथा कार्यकर्ताको सहभागिता थियो ।विसं १९९७ देखि राणा शासन अन्त्यका लागि प्रजा परिषद्को सदस्यका रुपमा सक्रिय रहनुभएका सिंहलाई विसं २०४६ को जनआन्दोलन सफल भएपछि तत्कालीन राजाले प्रधानमन्त्री बन्न प्रस्ताव गरेपनि अस्वीकार गर्नुभएको थियो । विसं १९७२ कात्तिक २४ गते काठमाडौँको क्षेत्रपाटीस्थित चाक्सीबारीमा जन्मनुभएका नेता सिंहको निधन विसं २०५४ असोज २ गते भएको थियो । रासस