२०८१ कार्तिक २५ , आइतवार

नेपाली समाजको विविधता नै नेपाली पहिचान हो : मन्त्री दाहाल

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नेपाली समाजको विविधता नै नेपालीको पहिचान भएको बताउनुभएको छ ।पूर्वाञ्चल गन्धर्भ सांस्कृतिक उत्थान सङ्घ झापाको प्रतिनिधि मण्डलसँग काठमाडौँमा भएको भेटमा मन्त्री दाहालले नेपाली मौलिकता र नेपाली सङ्गीतको संरक्षण सबैको साझा दायित्व भएको बताउनुभयो । नेपालका सबै जाति, भाषा, संस्कार र संस्कृति संरक्षणमा सरकार प्रतिवद्ध रहेको उहाँको भनाइ थियो ।

नेपाली मौलिकताको संरक्षणका लागि नयाँ पुस्तालाई आकर्षित गर्न जरुरी रहेको उल्लेख गर्दै मन्त्री दाहालले कुनै पनि जातजातिको संस्कृति सङ्कटमा परे राज्यको परिचय नै सङ्कटमा पर्ने बताउनुभयो ।कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सबै जातजातिको संस्कृति संरक्षणका लागि आफ्नो मन्त्रालयले सक्दो पहल गर्ने बताउनुभयो ।

पूर्वाञ्चल गन्धर्भ सांस्कृतिक उत्थान सङ्घका अध्यक्ष रवीन गन्धर्भले आफ्नो संस्थाले नेपाली मौलिक सङ्गीतको संरक्षण गर्न देशव्यापी अभियान सञ्चालन गरिरहेको बताउनुभयो । गन्धर्भ जातिलाई लोपोन्मूख जातिमा सूचीकृत गर्नुपर्ने, नेपाली मौलिक संस्कृतिको संरक्षण गर्नुपर्ने, सङ्गीतमाथिको हस्तक्षेप रोक्नुपर्नेलगायतका विषयमा जागरण फैल्याउन अभियान थालिएको उहाँको भनाइ थियो । सो अवसरमा झापाको कचनवकल गाउँपालिकामा गन्धर्भ सङ्ग्रहालय, सभाहल, पहुँचमार्गलगायतका संरचना निर्माण गर्न तथा गन्धर्भ बस्तीमा ‘होमस्टे’ सञ्चालन गर्न आवश्यक सहयोगका लागि आग्रह गरिएको अध्यक्ष गन्धर्भले जानकारी दिनुभयो । रासस