२०८१ आश्विन ६ , आइतवार

उद्यमशीलताका लागि कर्जा सुरक्षण अत्यावश्यक

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

उद्यमशीलता तथा रोजगारी वृद्धिका लागि कर्जा सुरक्षण अत्यावश्यक रहेको विज्ञहरुले बताएका छन् । शुक्रबारदेखि सुरु भएको एसियाली सुरक्षण संस्था(एसिक)हरुको ३६ औं सम्मेलनको दोस्रो दिन शनिबार वक्ताहरुले नवप्रवर्तन र उद्यमशीलता विकासमा कर्जा सुरक्षण महत्वपूर्ण हुने धारणा राखेका हुन् ।दोस्रो दिनको उद्घाटन सत्रमा प्रधानमन्त्रीका मुख्य आर्थिक सल्लाहकार एवम् पूर्व अर्थमन्त्रीडा.युवराज खतिवडाले नेपालमा निकै कमले मात्र बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिने प्रवृत्ति रहेको उल्लेख गरे । कुल जनसंख्याको अत्यन्त कम अर्थात् १८ प्रतिशतले मात्रै कर्जा लिएको उनले जानकारी दिए ।

बैंक तथा वित्तीय संस्थाले महिलालाई कर्जा प्रवाह गर्दा प्रतिफलको दर उच्च हुने उनको धारणा थियो । तर महिलाहरूमा धितो राख्ने सम्पत्ति कम हुने गरेकाले ऋण लिएर काम गर्ने अवस्था नभएको उनले बताए ।समृद्ध राष्ट्र बन्नका लागि महिलासहित सुविधाबाट वञ्चित समुदायसम्मका समाजका सबै वर्गमा कर्जाको सहज पहुँच हुनुपर्ने उनको भनाइ थियो ।सम्मेलनमा नवप्रवर्तनमा लगानी ः कर्जा सुरक्षण संस्थाको भूमिका विषयक सज्ञका सहभागीहरुले नवप्रवर्तन र उद्यमशीलतामा कर्जा सुरक्षणको आवश्यकतासहित आफ्नो देशको अभ्यास र अनुभव आदानप्रदान गरेका थिए । कोरिया कर्जा सुरक्षण कोष (कोडिट) अध्यक्षका नीति सल्लाहकार जुंगिन योनले कोडिटले नयाँ सोंच र योजना भएका तर वित्तीय रूपमा अप्ठेरोमा परेका उद्यमीमा लगानी गरेको बताए ।

मलेसियाली क्रेडिट ग्यारेन्टी कर्पोरेसन (सीजीसी)का अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत मोहम्मद इसकले मलेसियाका साना तथा मझौला उद्योग (एसएमई)मध्ये एक तिहाईलाई सीजीसीले सहयोग गरिरहेको बताए । साखगरी सुरक्षा, वित्तीय व्यवस्था र आवश्यक अन्य काममा सहयोग गरिरहेको उनले जानकारी दिए ।फिलिफिन्सको कर्जा सुरक्षण निकाय फिलिपिन ग्यारेन्टी कर्पोरेसन (पीजीसी)का वरिष्ठ उपाध्यक्ष सेल्सो गुटिअरेजले फिलिपिन्सको नवप्रवर्तनसम्बन्धी कानून र कार्यक्रमहरूले साना उद्योगीको विकासलाई निरन्तरता दिन सहयोग गर्दै आएको जानकारी दिए । ’हामी ग्रामीण विकासको माध्यमबाट देशविकासको प्रयास गरिरहेका छौँ,’ उनले भने, ’कर्जा सुरक्षणका लागि हामीले सहरी क्षेत्रबाहिरका मानिसहरूलाई आवेदन दिन प्रोत्साहित गर्छौं ।’ ताइवनको एसएमई क्रेडिट ग्यारेन्टी फन्ड (टीएसएमईजी) का युसिन कुओले आफूहरूले एसएमईहरुलाई जुनसुकै अवस्थामा पनि सहयोग गर्दै आइरहेको बताइन् । सरकार र बैंकसँगको सहकार्यमा उद्यमीहरुलाई सहयोग गरिरहेको उनको भनाइ थियो ।

सम्मेलनको दोस्रो सत्रमा नवप्रवर्तन फाइनान्सिङमा एसियाली देशका उत्कृष्ट अभ्यासहरूका विषयमा छलफल भएको थियो । सो सत्रमाक्रेडिट ग्यारेन्टी कर्पोरेसन अफ कम्बोडिया (सीजीसीसी) डेपुटी प्रमुख कार्यकारी अधिकृत लिडा नोले विशेषगरी साना तथा मझौला उद्योग र अन्य व्यवसायहरूलाई सहयोग गर्ने उद्देश्यले कर्जा र बन्ड ग्यारेन्टीहरू आफ्नो संस्थाले प्रदान गर्दै आएको बताइन् ।जापान फाइनान्स कर्पोरेसन (जेएफसी)का वरिष्ठ अर्थशास्त्री योहेई यामागुचीले सन् २०२७ सम्ममा नवप्रवर्तनको क्षेत्रमा लगानी बढाएर ७ अर्ब अमेरिकी डलरभन्दा बढी पु¥याउने उद्देश्यले जापानी सरकारले पाँच वर्षे विकास योजना ल्याएको जानकारी गराए । उनका अनुसार स्टार्टअपको संख्या र गुणस्तरमा उल्लेख्य वृद्धि गर्ने उक्त योजनाको लक्ष्य छ।

‘जापानका वाणिज्य बैंकहरूले बिजनेसलाई प्रोत्साहन गर्दा अन्य देशका तुलनामा इक्विटी फाइनान्स मार्केटको क्षेत्रमा विकास कम भएको देखियो,’ यामागुचीले भने, ‘जेएफसी जस्ता संस्थाबाट नवप्रवर्तन र साना तथा मझौला उद्यम एसएमईलाई प्रोत्साहन गर्न सरकारले हस्तक्षेप गर्नुपर्ने देखिएको थियो ।’कार्यक्रममा स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालका सीईओ अनिर्वाण घोष दस्तीदारले स्टार्टअपहरू र एमएसएमईहरू बढिरहेको क्षेत्र÷स्थानमा क्रेडिट ग्यारेन्टीको काम अझ महत्वपूर्ण भएको बताए । नेपालमा २७ प्रतिशत जनसंख्यामा बैंकको पहुँच पुग्न बाँकी रहेको उल्लेख गर्दै उनले वित्तीय पहुँचलाई समावेशी बनाउन पर्याप्त अवसर भएको पनि उल्लेख गरे । सो क्रममा उनले नेपालमा उदीयमान र विस्तार हुँदै गएकाले स्टार्टअपहरूसँगै आर्थिक सम्भावना बढाउन क्रेडिट ग्यारेन्टीको आवश्यकता बढी रहेको धारणा राखे ।

भारत हैदरावादस्थितको फिनटेक कम्पनी टी–हबका सल्लाहकार सञ्जय ठाकुरले एसियाली क्षेत्रमा कर्जा सुरक्षाले साना तथा मझौला उद्योगहरूलाई विस्तार गर्न सहयोग पुग्ने बताए । तर कर्जा सुरक्षाका योजना वास्तविक समस्यामा केन्द्रित हुनुपर्ने उनको भनाइ थियो । जापानका ५१ क्षेत्रमा ५१ प्रकारकै कर्जा सुरक्षण योजना रहेको उल्लेख गर्दै उनले यसबाट पनि एसियाली देशहरूले पाठ सिक्नुपर्ने बताएका थिए ।सोमबारसम्म सञ्चालन हुने सम्मेलनमा एसियाका १६ देशका सुरक्षण निकायहरुको उपस्थिति रहेको छ । नेपालले ३० बर्षपछि यो सम्मेलन आयोजना गरेको हो ।