२०८१ मंसिर १३ , बिहिवार

‘साना तथा मझौला व्यवसायका लागि कर्जा सुनिश्चितता आवश्यक’

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

साना तथा मझौला व्यवसायका लागि कर्जा सुनिश्चितता आवश्यक रहेको विज्ञहरुले बताएका छन् । एसियाली क्रेडिट सपोर्ट एन्ड इन्नोभेसन कन्फेरेन्स (एसिक्स) को ३६ औं ऋङ्खलाको तेश्रो दिनमा चलेको छलफलमा सहभागीहरुले साना र मझौला उद्यम (एएसएमइ)लाई सघाउन कर्जा सुनिश्चित गर्ने संस्थाको महत्वपूर्ण भूमिका रहने बारे चर्चा भयो । यस सम्मेलनका दौरान आइतबार पाँच सत्रमा छलफल चलेका थिए ।
छलफलमा नेपाल राष्ट्र बैंकका डेपुटी गवर्नर बमबहादुर मिश्रले एएसएमइहरूले अहिले धेरै चूनौति र बाधाको सामना गर्नु परेको बताए ।

उनले भने, ‘कर्जा सुनिश्चित गर्ने संस्थाले ऋणको माग र आपूर्तिबीचको खाडल पुर्न महत्वपूर्ण भूमिका खेल्दै आएका छन् ।’ उनले यस्ता संस्थाले केन्द्रीय बैंकसँगको सहकार्यमा सबै क्षेत्रमा दीगो वृद्धि हुने किसिमले काम गर्नुपर्ने बताए ।कार्यक्रममा इन्डोनेसियासी विज्ञ नुर श्यामसुदादी र जापान क्रेडिट ग्यारेन्टी महासंघका हातानोले इन्डोनेसियाली सरकारले साना तथा मझौला उद्यमको वित्तीय साक्षरता बढाउने अभियान सञ्चालन गरी ८० प्रतिशतभन्दा बढी उद्यमको कर्जा योग्यता बढाउने काम गरेको बारे चर्चा गरे । हातानोले यस्ता उद्यममा डिजिटल प्रविधिको विकासले ल्याएको चुनौती अवसरबारे समेत प्रकाश पारेका थिए ।

आजै आयोजित अर्को छलफलमा एसियाली नविनतम वित्त व्यवस्थाका सफल उदाहरणबारे चर्चा गरिएको थियो । छलफलमा कोडिट एआइमा आधारित बस प्रणाली (जसले साना तथा मझौला व्यवसायलाई आफ्नो कर्जाको योग्यता तत्कालै जाँच्ने सजिलो प्रविधिको विकास गरेको छ) बारे चर्चा भएको छ । उता, एआइमा आधारित वित्तीय सेवाबारे समेत सो सत्रमा छलफल भएको छ । पर्यटन, उर्जा समेतका विभिन्न किसिमका उद्यममा सघाउने फिल ग्यारेन्टीको प्रयासलाई पनि आर्थिक स्थिरता बढाउने बलियो उदाहरणबारे चर्चा गरिएको थियो ।

भारतको साना तथा मझौला उद्यम कोषकि व्यवस्थापक रिचा चौधरीले भनिन्, “यस्ता ऋणले साना उद्यम र उनीहरूका सिर्जनात्मक तथा नवीनतम सोचहरूमा प्राण भर्ने काम गर्दै आएको छ ।’ उनका अनुसार यो कोषको कार्यक्षेत्र भारतका ८५ प्रतिशतभन्दा बढी साना तथा मझौला उद्यमसम्म पुग्न र आर्थिक रूपमा सघाउन सक्ने किसिमको छ । निक्षेप तथा कर्जा सुरक्षण कोषकी प्रमुख मन्दिरा थपलियाले आफ्नो कोषले हालसम्म झन्डै १४ लाख ऋणिलाई डेढ अर्बभन्दा बढी नवीन सोच र उद्यमलाई सघाएको बताइन् ।आजै आयोजित अर्को सत्रमा विभिन्न उद्यम र त्यसका लागि कर्जा सुनिश्चित गर्ने संस्था दुवैका लागि वितीय नवीनता, जोखिम व्यवस्थापन र आम्दानी बढाउन मुल्य रणनीतिले खेल्ने भूमिकाबारे छलफल गरियो । सो क्रममा वक्ताले प्रस्तावित उद्यम र लगानीकर्ता दुइटैलाई सघाउन र संभावित जोखिम कम गर्नेगरी मूल्यका नमुना निर्माण गर्ने तरिकामा छलफल गरेका थिए ।

कुमारी बैंकका प्रमुख डिजिटल बैंकिङ अधिकृत अनिश ताम्राकारले परियोजनाको संभाव्यता र मुल्य प्रणाली बीच सन्तुलन मिलाउन मिलाउनु आवश्यक रहेको बताए ।कार्यक्रमकै दौरान आयोजित ‘वित्तीय नवीनता, रणनीति तथा सिकाइमार्फत जोखिम व्यवस्थापन र आगामी बाटो’ विषयक छलफलमा सहभागीले आर्थिक शिथिलता, प्राकृतिक प्रकोप र महामारीका बेला नवीनतम र स्टार्टअप उद्यममा हुने उच्च जोखिम व्यवस्थापनका उपायहरूबारे विचार राखेका थिए । जापान र दक्षिण कोरियाका कर्जा सुरक्षण संस्थाका प्रतिनिधिले उल्लेखित जोखिम कम गर्न तथ्यांकमा आधारित र मात्रात्मक तरिकाको प्रयोगसँगै वित्तीय संस्थासँग जोखिम सेयर गर्ने, भेन्चर ऋण योजनालगायत मोडलबारे चर्चा गरे । उनीहरुले स्थानीय सरकारमा आधारित कर्जा सुनिश्चितता गर्ने संस्था, कर्जाको पुनः सुनिश्चितता गर्न सकिने तरिकालगायत योजनामा सचेतना आवश्यक रहेको बताए ।

कोरिया रिजनल क्रेडिट ग्यारेन्टी फाउन्डेसनका प्रतिनिधिले प्रविधि नवीनतामा आधारित साना तथा मझौला उद्यमलाई सघाउन आफ्नो संथाको सकृय अभियानबारे जानकारी गराए । उनले कसरी संस्थाले धोखाधडी लगायत पूर्व जोखिम र व्यवसाय डुब्नेजस्ता अन्य जोखिमलाई प्रविधिको प्रयोग मार्फत कम गर्न सघाइरहेको बताए ।आजै भएको “अनिश्चितताका बीच दिगो सुनिश्चितता सम्बन्धी कार्यक्रम निर्माण’ नामक सत्रमा प्राध्यापक सुरेश मानन्धरले बढ्दै गएका चुनौतीका बीच कर्जा सुनिश्चिततालाई दिगो बनाउने भन्नेमा जोड दिए । वक्ताहरूले आर्टिफिसियल इन्टेलिजेन्स (एआइ) प्रविधिबाट कर्जा सुनिश्चित गर्ने र कार्यक्रमलाई दीर्घकालीन बनाउनेमा जोड दिए ।