२०८१ मंसिर १ , शनिवार

नवलपुरमा जितीया पर्व मनाइँदै

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

नवलपरासी (बर्दघाट–सुस्तापूर्व), का थारु महिलाले आज धुमधामका साथ जितिया पर्व मनाउँदै छन् । तीन दिनसम्म मनाइने यो पर्वको मुख्य दिन आज थारु महिला निराहार व्रत बसेर रमाइलो गरी मनाउँदैछन् ।जितिया पर्व हरेक वर्षको आश्विन कृष्ण पक्षको सप्तमीदेखि नवमी तिथिसम्म नेपालको मध्यभागमा रहेको नवलपुर तथा तराईका जिल्लामा थारु महिलाले मनाउने गर्दछन् । यस व्रत वा उपवासको क्रममा जितवहान भगवानको कथा र महिमा सुन्ने गरिन्छ । थारु महिलाहरुको ठूलो चाडको रुपमा रहेको जितिया पर्व सन्तानको सुख शान्ति र दीर्घायुको लागि प्रसिद्ध छ ।

आज अष्टमी तिथिका दिन थारु समुदायका महिला ‘झाम्टा’ नाच नाच्दै गाउँदै जितिया मनाउँछन् । आज बिहानै उठेर नुहाइधुवाइ गरी बेलपत्र टिपेर पूजा तथा नाचगान गर्दै दिनभर महिला तथा युवती यो पर्व मनाउने गर्दछन् । थारुहरुको बाक्लो बसोबास रहेको जिल्लाको मध्यविन्दु, कावासोती, देवचुली नगरपालिकामा जितियाको विशेष उल्लास हुने गरेको छ ।

यो पर्वमा पहिलो दिन सप्तमी तिथिलाई ‘लाहा खाएके’, दोस्रो दिन अष्टमी तिथिलाई ‘उपास’ र अन्तिम दिन नवमी तिथिलाई ‘पारन’ भनिन्छ । हिजो मङ्गलबार सप्तमीको दिन भएकोले महिलाहरु बिहानै खोला, ताल तलैया, नदी, पोखरीमा गई स्नान गरी त्यसपछि मात्रै खानेकुरा ‘दर’ खाएका थिए । आज बुधबार अष्टमीको दिनमा महिला बिहानै नुहाइधुवाइ गरी सफा र शुद्ध कपडा लगाएर बिहानैदेखि पानी पनि नखाइ निराहर ‘उपास’ ब्रत बसेर झम्टा नाच नाचेर मनाउँछन् ।

महिला नयाँ सांस्कृतिक वेषभूषा लगाई आज अष्टमीको दिनभरि नै झम्टा नृत्यमा रम्ने गर्दछन् । बेलुकीपख व्रतालु फेरि खोलामा गई पिनाले नुहाइ पातमा पिना बगाउँछन् । त्यसपछि बेलुकीपख सबै व्रतालु महिला जम्मा भएर कथा सुन्ने प्रचलन छ । रुखको चारैतिर व्रतालु महिला फलफूल, पानी, दूध, दही, भिजाएको मास र चामल लिएर बस्छन् ।

गाउँको कुनै एक पुरुषले जीतबाहनको कथा (जितिया व्रत कथा) घण्टौँ लगाएर सुनाउँछन् । कथा सकिएपछि सबै जना घर गएर ‘फराहर’ (व्रत बसेको दिनमा बेलुकी पख कथा सुनिसकेपछि दही, केरा, चिउरा, फलफूलको भोजन) गर्छन् । भोलिपल्ट अर्थात् नवमीको दिन बिहानै सबै व्रतालु खोलामा नुहाएर निराकार प्रतिमूर्ति (जसलाई थारु भाषामा ‘गरग्वाङ’ भनिन्छ) बनाएर मासको गेडाले पूजा गर्छन् । खोलाबाट घर आइसकेपछि व्रतालुले दही, चिउरा, केरा लगायतका खानेकुरा खान्छन् । तर, खानु भन्दा अगाडि आगोको गुइँठाको अङ्गारमा काठको धूप बालेर सबै खानेकुराको केही अंश चढाएर मात्र खान्छन् । त्यसलाई ‘पारन’ भनिन्छ । त्यसपछि भने व्रत सकिएसँगै जितिया पर्व सकिन्छ ।

हिन्दू धर्मावलम्बी नेपाली महिलाले मनाउने तीज जस्तै थारु समुदायले यो जितिया पर्वलाई महत्वका साथ मनाउने गरेका छन् । सन्तानको दीर्घ जीवन, सन्तान प्राप्ति तथा परिवारिक सुखशान्तिका लागि मनाइने जितिया पर्वको धार्मिक तथा सांस्कृतिक महत्व रहेको मध्यविन्दु नगरपालिका–३ का वडाध्यक्ष मानबहादुर महतोले बताउनुभयो । यो पर्वले महिलाको सांस्कृतिक भूमिका र महत्वलाई उजागर गर्ने महतोको भनाइ छ ।

विशेषगरी विवाहित थारु चेलिबेटीले निराहार व्रत बसेर सूर्यलाई जितबाहन बाबाको नामले पूजाअर्चना गर्ने प्रचलन रहेको वडाध्यक्ष महतोको भनाइ छ ।विवाह गरेर गएका चेलीबेटीलाई अनिवार्य रुपमा माइतीमा बोलाई यो पर्व मनाउने परम्परा छ । विवाहित र अविवाहित दुवै चेलिहरुले यो पर्वमा व्रत लिनसक्ने महतोले बताउनुभयो ।मध्यविन्दुका थारु अगुवा जुगतराम थनेतका अनुसार विवाहितले श्रीमान् र आफ्ना सन्तानको दीर्घायुको कामना गर्दै निरहार व्रत बस्छन् भने अविवाहित चेलिहरुले जितबाहन जस्तै सुयोग्य पति प्राप्तिका लागि निरहार व्रत बस्ने चलन छ । चौबिस घन्टे लामो व्रतपछि मात्र महिलाहरुले पानी पिउने थनेतको भनाइ छ ।

यस्तो कठोर व्रतबाट सूर्य भगवान् खुसी भई सन्तान तथा पतिको सुस्वास्थ्य र दीर्घायुको आशिर्वाद दिने विश्वास थारु समुदायको रहेको थनेतले बताउनुभयो । यस पर्वलाई थारु विवाहित चेलिबेटीलाई माइतमा ल्याई सुख–दुःखका कुरा साट्ने अवसरका रुपमा पनि लिने गरिएको मध्यविन्दु नगरपालिका उपप्रमुख पूर्णकला चौधरीले बताउनुभयो । वषौँसम्म आफन्तसँग भेटघाट गर्ने सङ्गमका रुपमा पनि यसलाई लिइने चौधरीको भनाइ छ । मीठो मसिनो खाई एकापसमा भलाकुसारी गर्ने अवसर पनि यस पर्वले जुराउने गरेको नगरउपप्रमुख चौधरीको भनाइ छ ।

जितिया पर्व मनाउने प्रचलन कहिलेदेखि सुरु भयो भन्ने यकिन नभए पनि थारु समाजमा यसको महिमा परापूर्वकालदेखि रहँदै आएको चौधरीले बताउनुभयो । आफ्नो संस्कृति झल्काउने पोसाकमा सजिएर थारु महिलाहरुले यो पर्व मनाउने गरेका छन् । यसरी सामाजिक सद्भाव वृद्धि गर्ने पर्वको रुपमा चिनिने जितिया पर्व नेपाल र नेपालीको पहिचान बोकेको पर्व भएको नगर उपप्रमुख चौधरीले बताउनुभयो ।  रासस