२०८१ कार्तिक ३० , शुक्रवार

अध्यागमनको छवि सुधार गर्न आवश्यक छ : गृहमन्त्री लेखक

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

गृहमन्त्री रमेश लेखकले अध्यागमन कार्यालयले आफ्नो छवि सुधार गर्न आवश्यक रहेको बताउनुभएको छ । अध्यागमन कार्यालयका बारेमा नकरात्मक टिकाटिप्पणी हुने गरेको उल्लेख गर्दै उहाँले यसतर्फ सचेत हुन आग्रह गर्नुभयो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयको स्थलगत निरीक्षण गर्दै गृहमन्त्री लेखकले अध्यागमन कार्यालयका बारेमा नागरिकको राम्रो बुझाइ नभएको उल्लेख गर्दै यहाँ हुने कुनै पनि किसिमका अवाञ्छनीय गतिविधि स्वीकार्य नहुने स्पष्ट पार्नुभयो । विमानस्थलमा कार्यरत अन्य सरकारी संयन्त्रसित समन्वय गरेर काम गर्र्न उहाँले अध्यागमनका कर्मचारीहरुलाई निर्देशन दिनुभयो ।

“अन्तर्राष्ट्रिय विमानस्थल देशको ऐना हो, यहाँ आउने नागरिकले नेपाल हेर्ने यहीँ हो । बाहिर जाने नागरिकले पनि नेपालको व्यवहार देख्ने यहीँ नै हो”, गृहमन्त्री लेखकले भन्नुभयो । अध्यागमनका कर्मचारीको व्यवहार सौहार्दपूर्ण, सहिष्णु, नरम र सेवामुखी हुन जरुरी रहेको उहाँको भनाइ थियो ।

सो अवसरमा त्यहाँ कार्यरत अध्यागमनका कर्मचारीहरुले अध्यागमन कार्यालयका लागि विमानस्थलभित्र ठाउँ अभाव र विभिन्न भौतिक संरचना सुधारको आवश्यकता रहेको उल्लेख गर्दै कर्मचारीलाई समयक्रमअनुसार तालिम तथा प्रशिक्षण आवश्यक रहेको गृहमन्त्री लेखकलाई अवगत गराएका थिए । गृहमन्त्री लेखकका साथमा गृहसचिव गोकर्णमणि दुवाडीसमेत रहनुभएको थियो ।  रासस