२०८१ आश्विन ११ , शुक्रवार

सांस्कृतिक कार्यक्रममा योगदान गर्ने सम्मानित

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा यही असोज ३ गते राजधानीमा आयोजित ‘नेशनल डे कन्सर्ट’मा योगदान पु¥याउने विभिन्न व्यक्तित्वलाई सम्मान गरिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आज धरहरा परिसरमा एक समारोहबीच कन्सर्ट सफल बनाउन सहयोग गर्ने कलाकार, समाजसेवी, खेलाडी, साहित्यकारलागायतलाई सम्मान गरेको हो । कार्यक्रममा प्रधानमन्त्री कार्यालयका सचिव डा कृष्णहरि पुस्करले संविधान दिवसका अवसरमा नागरिक स्तरबाटै कार्यक्रम गरिनु र व्यापक जनसहभागिताले यसलाई थप सफल र सार्थक बनाएको बताउनुभयो । उहाँले कार्यक्रममा योगदान दिने सबैलाई धन्यवाद दिँदै देशको प्रगति र समृद्धिमा कला, साहित्य, खेलकुद, र समाजसेवाले महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्नुभयो ।

सम्मानित हुनेहरुमा कलाकार, समाजसेवी, खेलाडी, व्यापारी, साहित्यकारलगायत रहेका छन् । सो अवसरमा हास्यकलाकार केदार घिमिरेले सम्मानले देशप्रतिको जिम्मेवारी अझ थपिएको उल्लेख गर्नुभयो । ‘नेशनल डे कन्सर्ट’का लागि नागरिकस्तरबाट १५० जनाको विशेष समिति गठन गरिएको थियो । समितिमा विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्ति रहनुभएको थियो ।  रासस