२०८१ आश्विन १३ , आइतवार

काठमाडौंमा ११ ब्रान्डका पानीमा कोलिफर्म भएको पुष्टि,बिक्रीमा लगाइयो रोक

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

काठमाडौँ महानगरपालिकाले विभिन्न ११ ब्रान्डका पानीमा फिकल कोलिफर्म भेट्टाएपछि त्यसको विक्री वितरणमा रोक लगाएको छ । विक्रीमा रोक लगाइएका हरेकलाई २ लाख रुपैयाँ जरिवाना गर्ने निर्णय भएको महानगरपालिकाले जनाएको छ । यस सम्बन्धी गरिएको परिपत्रमा, जरिवाना राजस्व खातामा दाखिला गर्न भनिएको छ ।

यस्तै कोलिफर्म भेटिएको पानीको नमुना सरकारी निकायका प्रयोगशालाबाट प्राविधिक परीक्षण गरेर प्रतिवेदन बुझाउन भनिएको छ । यसरी बुझाइएको प्रतिवेदनमा फिकल कोलिफर्म शुन्य देखिएपछि विक्री वितरण गर्न सकिने पत्रमा उल्लेख छ । भदौ १२ गतेदेखि २८ गतेका बिचका विभिन्न दिनमा विभिन्न स्थानहरूबाट २० वटा पानीको नमुना लिइएको थियो ।

यसबाहेक उपभोक्ताले गुनासो गरेपछि एउटाको नमुना सङ्कलन गरेर काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको प्रयोगशालामा परीक्षणका लागि पठाइएको थियो । यसरी पठाइएका २१ वटा नमुनामध्ये ११ वटामा फिकल कोलिफर्म देखिएको हो । प्रति १ सय मिलिलिटर नमुना परीक्षणमा कोलोनी फर्मिङ् युनिट (सिएफयु) मापदण्ड विपरीत देखिएको हो । कोलोनी फर्मिङ युनिट (सिएफयु) सुक्ष्मजीवको अवस्था हेर्न प्रयोग गरिने युनिट हो ।