२०८१ आश्विन १३ , आइतवार

भारत : बस र ट्रक ठोक्किँदा १० जनाको मृत्यु, २४ घाइते

accident

सुनाखरी न्युज/ काठमाडौं ।

भारतको मध्य प्रदेश राज्यमा रोकिराखेको ‘डम्पर ट्रक’मा बस ठोक्किँदा कम्तीमा १० जनाको मृत्यु हुनुका साथै अन्य २४ जना घाइते भएका छन् ।मध्य प्रदेशको राजधानी भोपालबाट करिब ४९० किलोमिटर उत्तरपूर्वमा पर्ने मैहर जिल्लाको नादान देहात प्रहरी चौकी क्षेत्रमा शनिबार राति सो दुर्घटना भएको हो ।

प्रहरी उपरीक्षक सुधिर अग्रवालले घटनाको पुष्टि गर्दै भन्नुभयो, “गएराति नादान देहात थाना क्षेत्रमा राष्ट्रिय राजमार्गमा यात्रु बोकेको बस रोकिराखेको ढुङ्गाले भरिएको ‘डम्पर ट्रक’मा ठोक्किँदा १० जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन् ।”

पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य २९ जनालाई सतना अस्पतालमा लगिएको छ । दुर्घटनामा परी घाइते भएका थप पाँच जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुई जना यात्रुको अवस्था गम्भीर रहेको बताइएको छ ।प्रहरीका अनुसार बसभित्र फसेका यात्रुलाई स्थानीय नागरिक र प्रहरीले उद्धार गरेका थिए । प्रहरीले दुर्घटनाको अनुसन्धान सुरू भइसकेको जनाएको छ ।

उत्तर प्रदेशबाट आउँदै गरेको बस महाराष्ट्रको नागपुरका लागि छुटेको थियो । भारतमा प्रायः क्षमताभन्दा अत्यधिक भार, कमजोर सडक अवस्था र लापरवाहीपूर्वक हुने ड्राइभिङको कारण घातक सडक दुर्घटनाहरू हुने गर्छन् ।भारतमा हरेक वर्ष करिब पाँच लाख सडक दुर्घटनामा एक लाख ५० हजार मानिसको मृत्यु हुने गरेको अधिकारीहरूले बताएका छन् ।  रासस/एएफपी