२०८१ आश्विन १३ , आइतवार

पूर्वमुख्यमन्त्री राईद्वारा ‘हेर्ने कथा’का पात्र प्रकाशलाई जग्गा प्रदान

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

कोशी प्रदेशका पूर्वमुख्यमन्त्री शेरधन राईले ‘हेर्ने कथा’का पात्र प्रकाश तामाङलाई जग्गा उपलब्ध गराउनुभएको छ । उहाँले भोजपुरस्थित षडानन्द नगरपालिकामा तामाङलाई पाँच रोपनी तीन आना जग्गा, एकहल गोरु र हाते ट्याक्टर उपलब्ध गराउनुभएको हो ।

प्रकाशले आफ्नै पुख्र्याैली गाउँमा कृषि पेसामा आबद्ध हुने इच्छा व्यक्त गरेपछि नेपाल कम्युनिष्ट पार्टी (एमाले)का स्थायी कमिटी सदस्यसमेत रहनुभएका पूर्वमुख्यमन्त्री राईले कृषि गर्न आवश्यकपर्ने जग्गासहति गोरु र हाते ट्र्याक्टर उपलब्ध गराएको बताउनुभयो । उहाँले हजारौँ युवा विदेश गइरहेको वर्तमान अवस्थामा प्रकाशले आफ्नै ठाउँमा खेतीकिसानी गर्ने इच्छा गरेकाले आवश्यक सहयोग गरेको उल्लेख गर्नुभयो ।

पूर्वमुख्यमन्त्री राईले प्रकाशलाई गाउँमा एक उदाहरणीय कृषक बनेर काम गर्नसमेत आग्रह गर्नुभयो । प्रकाशलाई उहाँले एक महिना अघि रु एक लाख नगद पनि सहयोग गर्नुभएको थियो ।पूर्वमुख्यमन्त्री राई पत्नी जाङ्मु इन शेर्पाको पहलमा प्रकाशलाई मालपोत कार्यालय भोजपुरमा उक्त जमिन लिखित पास गरिएको छ । राई पत्नी शेर्पाका नाममा रहेको जग्गा प्रकाशका नाममा पास गरिदिएपछि आज एक कार्यक्रमकाबीच लालपुर्जा हस्तान्तरण गर्नुभएको हो ।

जग्गाको लालपुर्जासँगै कृषि सामग्री पाएपछि प्रकाशले राई दम्पतीले गर्नुभएको सहयोगले कृषिकर्ममा लाग्न थप हौसला मिलेको बताउनुभयो । जग्गा प्रदान कार्यक्रममा षडानन्द नगरपालिकाका प्रमुख सुरेन्द्र उदास, स्थानीय जनप्रतिनिधिसहित स्थानीयवासीको उपस्थिति थियो । परिवारको सम्पर्कबाट करिब ३५ वर्ष बाहिर रहनुभएका तामाङ हेर्ने कथामार्फत सम्पर्कमा आउनुभएको थियो ।  रासस