२०८१ आश्विन १३ , आइतवार

मोबाइलबाटै काट्न सकिन्छ काठमाडौँबाट ४३३ गन्तव्यको टिकट

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

दसैँका लागि काठमाडौँ उपत्यकाबाट देशका विभिन्न गन्तव्यमा जानका लागि शनिबारदेखि अग्रिम टिकट बुकिङ खुला भइसकेको छ । शनिबार टिकट खुलेसँगै भारी वर्षाका बाबजुद पनि यात्रुहरू बसपार्क र उपत्यकाका अन्यत्र रहेका टिकट काउन्टरमा लाइन लागेर टिकट काटिरहेका छन् ।प्रविधिमा जानकार रहेका केहीले भने अनलाइनबाटै टिकट काटिरहेको भए पनि यसबारे जानकारी अभावका कारण झरी र जोखिमको पर्वाह नगरी धेरै मानिस टिकट काउन्टरसम्म धाइरहेका छन् ।

यसैबीच, अनलाइनमार्फत् नै बसको टिकट काट्ने सेवा प्रदान गर्दै आएको बससेवा डटकमले भने प्रविधिको उच्चतम प्रयोग गर्दै जोखिमरहित र झन्झटरहित तरिकाले घरैबाट टिकट काट्न अनुरोध गरेको छ ।विगत केही दिनदेखिको निरन्तर भारी वर्षाका कारण उपत्यकाका धेरै सडक क्षतिग्रस्त भएको र पूर्ण रूपमा मर्मत भई आवागमन सहज नभइसकेको अवस्थामा टिकट काउन्टरमा लाइन लागेर समय खर्च गर्नुको सट्टा घरैबाट आफैँसँग भएको मोबाइलबाट टिकट काट्न सकिने व्यवस्था बससेवाले गरेको हो ।

बससेवाले शनिबारदेखि नै देशभरका विभिन्न ४३३ गन्तव्यका लागि टिकट बुकिङ खुलाएको छ । प्रविधिमा जानकारी नहुने र अनलाइनको पहुँचमा नहुने व्यक्तिले पनि बससेवाका अन्य प्रयोगकर्ताको सहयोगमा सजिलै टिकट काट्न सकिने कम्पनीले जनाएको छ ।यति मात्रै होइन, देशका जुनसुकै स्थानबाट पनि काठमाडौँबाट छुट्ने गाडीको टिकट काट्न सकिने हुँदा यसको प्रयोगबाट यात्रुहरू लाभान्वित हुने बससेवाले जनाएको छ । संघीय राजधानी काठमाडौँ उपत्यकासहित देशका मुख्य सहरमा रहेका १० हजारभन्दा बढी स्टेसनरी, पान पसल, ट्राभल एजेन्सीलगायतबाट बससेवा प्रयोग गरी टिकट काट्न सकिनेछ ।

यसका साथै बससेवा चलाउन नसक्नेहरूलाई बससेवाका अन्य प्रयोगकर्तासँग सहयोग लिएर टिकट काट्न पनि बससेवाले आग्रह गरेको छ । लाइन लागेर टिकट काट्ने बाध्यताबाट छुटकारा दिलाउनका लागि आमयात्रुलाई टिकट काटेर सहयोग गरिदिन बससेवाका प्रयोगकर्तालाई पनि बससेवाले आग्रह गरेको छ ।सरकार तथा यातायात व्यवसायीले यस पटक अनलाइन टिकेटिङलाई प्राथमिकतामा राखेका कारण बससेवामा आवश्यकताअनसार टिकट उपलब्ध हुने बससेवाका प्रमुख कार्यकारी अधिकृत पिआर खनालले बताए ।

‘विगतमा अनलाइनमार्फत् काटिने टिकटको कोटा थोरै हुँदा अपेक्षित रूपमा टिकट उपलब्ध गराउन असहज हुने गरेको थियो,’ खनालले भने, ‘तर अहिले त्यो समस्या हटेको छ । आवश्यकताका आधारमा टिकट उपलब्ध छ ।’खनालका अनुसार बससेवामार्फत काठमाडौँबाट देशभरका सबै गन्तव्यको टिकट काट्न सकिन्छ भने देशका अन्य स्थानबाट पनि मोफसलकै टिकट काट्न सकिन्छ । ७० भन्दा बढी जिल्लाका ४३३ गन्तव्यका लागि दैनिक ४२ हजारभन्दा बढी संख्यामा बससेवाबाट टिकट काट्न सकिने उनले बताए ।

यात्रुहरूले बससेवा डटकम तथा बससेवाको मोबाइल एप्लिकेसनबाट घरमै बसेर टिकट बुकिङ गर्न सक्ने बताइएको छ । नेपालका कुनै पनि सहरको टिकट अनलाइनबाटै काट्न सकिने भएकाले यात्रुलाई टिकट काट्न बससेवा उचित माध्यम हुने र टिकट काट्नकै लागि लाइन बस्नुनपर्ने बससेवाले जनाएको छ ।बससेवा नेपालको पहिलो अनलाइन बस टिकेटिङ प्लेटफर्म हो । बससेवामा ४५० भन्दा बढी यातायात समिति तथा कम्पनी आबद्ध छन् । सबै समिति तथा कम्पनीका हजारौँ बसका लाखौँ सिटको टिकट घरबाटै बुकिङ गर्न सकिने भएकाले यात्रुलाई धेरै सहज हुने विश्वास कम्पनीले लिएको छ ।