२०८१ आश्विन १४ , सोमवार

भोलि अपराह्नसम्म घाम लाग्ने,बुधबारदेखि वर्षाको सम्भावना

rain 3

सुनाखरी न्युज/ काठमाडौं ।

आगामी बुधबारदेखि कोशीदेखि गण्डकी प्रदेशसम्मका जिल्लामा वर्षा हुने पूर्वानुमान छ ।जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले बुधबार कोशी प्रदेशका केही स्थानहरू तथा मधेशसहित बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।

कोशी प्रदेशका एक-दुई स्थानमा भने भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाको बुलेटिनमा उल्लेख छ ।त्रिभुवन विश्वविद्यालयका मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा. विनोद पोखरेलले बुधबारदेखि शनिबारसम्मै गण्डकीदेखि कोशी प्रदेशसम्म अपराह्नपख वर्षाको सम्भावना रहेको जनाएका छन् ।

उनका अनुसार लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका जिल्लामा भने वर्षाको खासै सम्भावना छैन ।मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव छ ।मंगलबार अपराह्नदेखि कोशी प्रदेश लगायतका पूर्वी भूभागका जिल्लाहरुमा बादल लागेर हल्का वर्षाको सम्भावना छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना औंल्याएको छ ।