२०८१ आश्विन १५ , मंगलबार

सेवा निवृत्त राससकर्मी विश्वकर्माको बिदाई

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

राष्ट्रिय समाचार समिति (रासस) मा कार्यरत बलबहादुर विश्वकर्मा सेवा निवृत्त हुनुभएको छ । राससको झापास्थित भद्रपुर कार्यालयमा कार्यालय सहयोगी पाँचौँ तहमा कार्यरत विश्वकर्मा उमेरहदका कारण सेवा निवृत्त हुनुभएको हो ।सेवा निवृत्त विश्वकर्माको बिदाई गर्दै राससका कार्यकारी अध्यक्ष धमेन्द्र झाले तोकिएको जिम्मेवारी सदैव सक्रिय एवं इमान्दारीपूर्वक पूरा गरी अवकास हुनुभएकोमा धन्यवाद ज्ञापन गर्दै अवकाशपछिको जीवन सुखद रहोस् भनी प्रगतिको कामना गर्नुभयो ।

उहाँको बिदाई कार्यक्रममा नेपाल पत्रकार महासङ्घ रासस प्रतिष्ठान शाखाका अध्यक्ष एवं रासस कर्मचारी सङ्घका अध्यक्ष पवित्रा गुरागाँइले राससको श्रीवृद्धिमा विश्वकर्माको सक्रिय योगदानको प्रसंशा गर्नुभयो । रासस कर्मचारी युनियनका कोषाध्यक्ष मुना भण्डारीले अवकाशपछिको दीर्घ जीवनको कामना गर्नुभयो । रासस कर्मचारी सङ्गठनका कार्यसमिति सदस्य सशीधर अधिकारीले विश्वकर्माको सक्रियताले राससको सेवामा महत्वपूर्ण योगदान पुगेको उल्लेख गर्नुभयो ।

अवकास लिनुभएका विश्वकर्माले राससले आफ्नो योगदानको कदर गरेको र यो जीवनकै महत्वपूर्ण क्षण भएको बताउँदै अवकाशपछि पनि राससलाई आवश्यक सहयोग गर्न सदैव तत्पर रहेको बताउनुभयो । उहाँको बिदाई कार्यक्रममा राससका महाप्रबन्धक सिद्धराज राई, नायब महाप्रबन्धकद्वय राजु शाक्य र श्यामप्रसाद रिमाललगायतको उपस्थिति रहेको थियो ।   रासस