२०८१ माघ ३ , बिहिवार

देशभरबाट १७ हजारभन्दा बढी प्रभावितहरूको उद्धार गरियो: गृह मन्त्रालय

Home Ministry

सुनाखरी न्युज/ काठमाडौं ।

गृह मन्त्रालयले बाढीपहिरो र डुबानलगायतमा परेका १७ हजार जनाभन्दा बढी नागरिकलाई उद्धार गरिएको बताएको छ।नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी तथा स्वयमसेवकहरूबाट बिहीबार बिहानसम्म १७ हजार एक सय २० जनाको उद्धार गरिएको गृह मन्त्रालयका प्रवक्ता सहसचिव ऋणिराम तिवारीले जानकारी दिए।विपदमा परेर बेपत्ता रहेका २२ जनाको खोजी कार्य जारी रहेको पनि उनले बताए।

मुलुकभर गरी एक सय ६९ जना घाइते रहेको र विभिन्न अस्पतालहरूमा उपचार भइरहेको उनले बताएका छन्।विपदमा परेर घाइते भएकाहरूलाई नि:शुल्क उपचार गर्ने सरकारले निर्णय गरेको थियो।

काठमाडौं उपत्यकाबाट दुई हजार एक सय ५८, कोशी प्रदेशबाट ९० जना, मधेसबाट ३५ जना, बाग्मती प्रदेशबाट १३ हजार ६ सय ४० जनाको उद्धार गरिएको गृहको भनाइ छ।नेपाली सेनाको हेलिकप्टरबाट वृद्धवृद्धा तथा बालबालिकाहरूलाई उद्धार गरिएको उनले बताए।