२०८१ मंसिर ११ , मंगलबार

बाढीपहिरोबाट भएको क्षतिको विवरण सङ्कलन गरिँदै

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

हलेसी तुवाचुङ नगरपालिकाले अविरल वर्षासँगै आएको बाढीहिरोबाट भएको क्षतिको विवरण सङ्कलन गर्न थालेको छ ।यही असोज १० गतेदेखि परेको अविरल वर्षासँगै आएको बाढीपहिराले नगरपालिका क्षेत्रका विभिन्न स्थानमा भएको क्षति विवरण सङ्कलन गर्न नगरप्रमुख विमला राईसहितको प्राविधिक टोली स्थालगत अनुगमनमा निस्किएको हो ।बाढीपहिरो पीडितको अवस्था बुझेर राहत तथा उद्धारको व्यवस्था मिलाउन स्थलगत अनुगमन थालिएको नगरप्रमुख राईले बताउनुभयो । “नगरपालिकाका अधिकांश वडा दूधकोशी तथा सुनकोशी नदीको तटीय क्षेत्रमा पर्छन् । सो क्षेत्रमा यस पटकको बाढीपहिराले ठूलो क्षति गरेको छ”, उहाँले भन्नुभयो, “बाढीपहिरो पीडित स्थानीयको अवस्था बुझेर राहत तथा उद्धारको योजना बनाउने छौँ । साथै क्षतिको यकिन विवरण सङ्कलन भएपछि राहत उपलब्ध गराउन सहज हुनेछ ।”

नगरप्रमुख राई नेतृत्वको टोलीले वडा नं १ बाहुनीडाँडास्थित जयरामघाट आसपासका स्थानीयको घर तथा गोठमा भएको क्षतिको विवरण सङ्कलन गरेको छ । यही असोज १२ गतेसम्म परेको अविरल वर्षासँगैको बाढीपहिरोले जयरामघाटमा मात्रै दर्जनबढी घर तथा गोठमा क्षति गरेको पाइएको नगरप्रमुख राईले जानकारी दिनुभयो ।दश स्थानीय तह रहेको खोटाङमा यस वर्षको बाढीपहिरोले जिल्लाका एक सय ३५ स्थानीय विस्थापित भएका छन् । विभिन्न ठाउँमा आएको बाढीपहिरोले ३३ घर पुरिँदा एक सय ३५ जना विस्थापित भएका बताउँदै उहाँले उनीहरुलाई सुरक्षित स्थानमा सारिएको जानकारी दिनुभयो ।

साथै दुई जना स्थानीय घाइते हुनुका साथै ३८ घरमा आंशिक क्षति गरेको जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले जानकारी दिनुभयो ।बाढीपहिरोबाट जिल्लामा सञ्चालित विकासे योजना बाहेक स्थानीयका घरमा भएको क्षति रु ७९ लाख ९९ हजार बढीको रहेको प्रहरीको तथ्याङ्कमा उल्लेख छ ।बाढीले खोटाङ र उदयपुरको सिमानामा पर्ने सुनकोशीस्थित फोक्सिङटारको मोटरेबल पक्की पुल तथा खोटाङ र उदयपुर जोड्ने बङ्शिलाघाट, ऐसेलुखर्क गाउँपालिका–४ जलेश्वरीस्थित कम्फुघाट, खोटाङ र उदयपुरको धाप्लाङघाट, जन्तेढुङ्गा गाउँपालिका–१ रमिते र उदयपुर जोड्ने मैनाटार तथा दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेस्थित भण्डारेघाटको झोलुङ्गे पुलमा क्षति पुगेको प्रजिअ कार्कीले जानकारी दिनुभयो ।

उहाँका अनुसार विसं २०७९ मा निर्माण सम्पन्न गरेर सञ्चालनमा ल्याइएको फोक्सिङटारको मोटरेबल पक्की पुल तथा अन्य पाँचवटा झोलुङ्गे पुलहरु गत शनिबार आएको बाढीले बगाएको हो ।दिक्तेल–गाईघाट सडकखण्डमा पर्ने सुनकोशीस्थित फोक्सिङटारको पुल बगाएपछि पूर्वी तराईसँगको सिधा यातायात सम्पर्क विच्छेद भएको छ । खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–५ आँपटार जोड्ने आर्क डिजाइनको मोटरेबल पुल बगाएपछि सिधा यातायात सम्पर्क विच्छेद भएको प्रजिअ कार्कीले बताउनुभयो ।अविरल वर्षाका कारण अवरुद्ध बनेका जिल्लाका सबै ग्रामीण सडक अझै सञ्चालनमा आएका छैनन् । मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–हलेसी तथा दिक्तेल–चखेवाभञ्ज्याङ खण्ड भने, पहिरो पन्छाएर सञ्चालनमा ल्याइएको छ ।  रासस