२०८१ माघ ३ , बिहिवार

ब्रोकर कम्पनीको नयाँ टीएमएस सञ्चालन, के के छन् सुविधा ?

TMS

सुनाखरी न्युज/ काठमाडौं ।

सेयर र अन्य धितोपत्र किनबेचका लागि आजदेखि ब्रोकर कम्पनीकै टीएमएस सञ्चालनमा आउने भएको छ । सेक्योर्ड सेक्युरिटिजले आइतबारदेखि  आफ्नै टीएमएस सञ्चालनमा ल्याउने भएको हो । ‘आइतबारदेखि औपचारिक रुपमा नयाँ टीएसमएस सञ्चालनमा ल्याउँदैछौं’ सेक्योर्ड सेक्युरिटिजका अध्यक्ष सन्तोष मैनालीले भने ‘नयाँ टीएमएस सञ्चालनमा आएपछि हाम्रा सबै ग्राहकले कारोबारका लागि यहीं प्रयोग गर्नुपर्छ ।’

हिजोअस्तिसम्म सीमित ग्राहकमा मात्रै परीक्षण गरिएको थियो । मैनालीका अनुसार बुधबारसम्म १ हजार ५२ ग्राहकले नयाँ टीएमएसको पहुँच पाइसकेका छन् । सेक्योर्ड सेक्युरिटिजको नयाँ टीएमएस सञ्चालनपछि अन्य ब्रोकर कम्पनीले पनि नयाँ सुरुआत गर्नेछन् ।

नासा सेक्युरिटिजसहित केही ब्रोकर कम्पनीहरूले छुट्टाछुट्टै टीएमएस सञ्चालनमा ल्याउने तयारी गरेका छन् । नासाले छुट्टै टीएमएस एस्टेरिस्क टेक्नोलोजी मार्फत खरिद गरेको छ । भारतको डिओन ग्लोबल सोलुसनले बनाएको टीएमएस नासाले प्रयोग गर्ने प्रबन्ध सञ्चालक मदन पौडेलले बताए ।

 

डीजीहब कम्पनीमार्फत ब्रोकरहरुले नयाँ टीएमएस खरिद गरेका हुन् । करिब ३ दर्जन ब्रोकर कम्पनीले डीजीहबबाटै टीएमएस खरिद गर्न सहमत भएका छन् । डीजीहबले श्रीलंकाको आइरन वान टेक्नोलोजीले विकास गरेको टीएमएस यहाँका ब्रोकर कम्पनीलाई पूर्णतयार गरी हस्तान्तरण गर्दछ ।

हाल ब्रोकर कम्पनीले नेप्सेको टीएमएस प्रयोग गर्दा मासिक २५ हजार रुपैयाँ शुल्क बुझाउँदै आएका छन् । तर, नयाँ टीएमएसको मासिक शुल्क ब्रोकर कम्पनीलाई औसतमा करिब १५ हजारजति पर्न आउँछ । यसले ब्रोकर कम्पनीलाई आर्थिक फाइदाका साथै चाहेका बेला आफैंले टीएमएस विकास गर्दै लैजान सक्नेछन् ।

 

हालसम्म मोबाइल एपबाट सहज रुपमा सेयर कारोबार गर्ने सुविधा थिएन । तर ब्रोकर कम्पनीको नयाँ टीएमएस भने मोबाइल एप भर्सनमा पनि उपलब्ध छ । नयाँ टीएमएस मोबाइल एप, डेस्कटप र वेब गरी तीन भर्सनमा उपलब्ध रहेको मैनालीले बताए ।

 

ग्राहकले कारोबारका लागि टीएमएस चलाउँदा कुनै शुल्क बुझाउन पर्दैन, जुन पहिलेदेखि रहँदै आएको छ ।