सुनाखरी न्युज/ काठमाडौं ।
यसवर्षको प्रतीक्षित नेपाली फिल्म ‘छक्कापञ्जा ५’को ट्रेलर सार्वजनिक भएको छ । दशैं फूलपातिको अवसरमा असोज २४ गते विहिबारदेखि प्रदर्शन हुन लागेको फिल्मको ट्रेलरले दर्शकमा ‘फेस्टिभल मुड’ जगाउन सक्छ ।दीपाश्री निरौला निर्देशित फिल्ममा दीपकराज गिरी, केदार घिमिरे ‘माग्ने बुढा’ र वर्षा सिवाकोटीको मुख्य भूमिका छ । माग्ने बुढा र निर्मल शर्मा कार्यकारी निर्माता हुन् ।
ट्रेलरमा मुख्य कथावस्तुसहित एक्सन, कमेडी, रोमान्स पनि समेटिएको छ । फिल्ममा दीपकराज गिरीलाई भ्रष्टाचार नगर्ने इमान्दार जागिरेको भूमिकामा देखाइएको छ । राजाराम पौडेल, लोकेन्द्र लेखक, ब्रजेश खनाल, रमेश बुढाथोकी, प्रकाश घिमिरे लगायतका कलाकार पनि ट्रेलरमा समावेश छन् ।यसपटक ब्युरोक्रेसी र भ्रष्टाचारलाई मूल मुद्दा बनाइएको छ ।
नेपालसहित उत्तर अमेरिका, युरोप, पूर्वी एसिया र ओसियाना मुलुक अष्ट्रेलिया र न्युजिल्याण्डमा समेत एकसाथ रिलिज हुँदैछ । मध्यपूर्वमा भने नेपाल रिलिजको एकसातापछि मात्र लाग्नेछ ।मध्यपूर्वको साउदी अरब, दक्षिण एसियाको टापु मुलुक माल्दिभ्स र अमेरिकाको उत्तरी राज्य अलास्कामा यो फिल्म पहिलोपटक प्रदर्शन हुँदैछ ।