२०८१ आश्विन २० , आइतवार

इजरायली धम्कीपछि इरानका तेलमन्त्रीद्वारा प्रमुख स्थलको भ्रमण

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

इरानको तेल सुविधा जस्ता महत्त्वपूर्ण स्थललाई लक्षित गर्ने सम्भावित इजरायली हवाई आक्रमणको चिन्ताका बीच इरानका तेलमन्त्री मोहसेन पाकनेजादले आइतबार खार्ग टापूमा रहेको एउटा तेल सुविधाको भ्रमण गर्नुभएको छ ।इरानले यस साता आफ्नो कट्टर शत्रुमाथि क्षेप्यास्त्र प्रहार गरेपछि इजरायलले ‘जवाफी कारवाहीको तयारी गरिरहेको’ एक इजरायली अधिकारीले बताएपछि यो भ्रमण भएको हो ।सेप्टेम्बर २७ मा बेरुतमा भएको आक्रमणमा हिजबुल्लाहका नेता हसन नसरल्लाह र इरानी जनरल अब्बास निलफोरोसनको मृत्युको बदला लिन दुई सय क्षेप्यास्त्र प्रहार गरिएको इरानको रिभोल्युसनरी गार्ड कप्र्सले बताएको थियो ।

पाकनेजादले बिहान खार्ग टापूको तेल सुविधामा पुगेर कर्मचारीहरूसँग भेट गर्नुभएको उहाँको मन्त्रालयको समाचार एजेन्सी शानाले बताएको छ । “हामी हाम्रा शत्रुहरूले सङ्कट उत्पन्न गर्नेछन् भन्ने कुराले डराउँदैनौँ र यस क्षेत्रको भ्रमण एउटा सामान्य व्यावसायिक भ्रमण हो”, उहाँले सरकारी टेलिभिजनमा भन्नुभयो ।खाडीमा अवस्थित खार्ग टापू इरानको सबैभन्दा ठूलो कच्चा तेल निर्यात टर्मिनल भएको स्थान हो ।इरानले मङ्गलबार आफ्नो क्षेत्रमा गरेको क्षेप्यास्त्र आक्रमणको जवाफ तयार गरिरहेको इजरायलको घोषणापछि पाकनेजादको भ्रमण भएको हो ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले बिहीबार इरानका तेल सुविधाहरूमा सम्भावित आक्रमणबारे इजरायलसँग ‘छलफल गरिरहेको’ बताउनुभएको थियो । उक्त भनाइपछि तेलको मूल्य बढेको थियो ।तर शुक्रबार बाइडेनले इजरायललाई इरानका तेल सुविधाहरूमा आक्रमण नगर्न बरु ‘अन्य विकल्प’ खोज्न आग्रह गर्नुभएको थियो ।इजरायली धम्कीपछि इरानका विदेशमन्त्री अब्बास अराघचीले शनिबार इजरायलले इरानमाथि आक्रमण गरे ‘इरानबाट समानुपातिक र समान प्रतिक्रिया हुने र अझ बलियो’ हुने चेतावनी दिनुभएको थियो ।  रासस/एएफपी