२०८१ आश्विन २० , आइतवार

बाढीमा परी मृत्यु भएकाका परिवारलाई राहत रकम प्रदान

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

बाढी तथा डुबानमा परेर ज्यान गुमाएका सर्लाहीको बलरा नगरपालिकाका दुई परिवारलाई राहत रकम हस्तान्तरण गरिएको छ ।जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक समेत रहनुभएका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अधिकारीले राहत रकम पीडित परिवारलाई हस्तान्तरण गर्नु भएको हो । प्रजिअ अधिकारीले मृत्यु भएका दुई परिवारलाई जनही दुई लाख बराबरको चेक हस्तान्तरण गरिएको जानकारी दिनुभयो ।

गत असोज १२ गते बागमती नदीमा आएको बाढी बाँध फुटाएर गाउँ पस्दा जिल्लाको दक्षिण पश्चिम बलरा नगरपालिका–३, लक्ष्मीपुरका १३ वर्षीय अङ्कित ठाकुर र वडा नम्बर-१, हथियौलका २७ वर्षीय पवन गिरीको मृत्यु भएको थियो ।उहाँहरु दुवै जनाको शव खोजीको क्रममा तेस्रो र चौथो दिन फेला परेको थियो । दुवै जनाका परिवारलाई घरमै पुगेर राहत स्वरुप सङ्घीय सरकारले निर्णय गरेको रकम प्रदान गरिएको हो ।

त्यसैगरी पालिकाका दुई पीडित परिवारलाई बलरा नगरपालिकाले पनि जनही एक/एक लाख राहत रकम प्रदान गर्ने निर्णय गरेको बलरा नगरपालिका प्रमुख रामाशङ्कर प्रसाद कुशवाहाले जानकारी दिनुभयो । विपन्न पीडित परिवारलाई सोही राहत रकमबाट मिलान गर्ने गरी तत्काललाई काजकिरियाको लागि शुक्रबार मात्र जनही रु २५ हजार रकम उपलब्ध गराएको उहाँको भनाइ थियो ।

यस्तै अविरल वर्षापछि सोती खोलामा आएको बाढीले बगाएर सर्लाहीको बागमती नगरपालिका-९, सक्रौल टोलका १४ वर्षीय मुकेश महतोको पनि मृत्यु भएको थियो । महतो परिवारलाई पनि राहत स्वरुप रु दुई लाख प्रदान गर्ने तयारी भएको जिल्ला प्रशासन कार्यालय सर्लाहीका सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेले जानकारी दिनुभयो ।  रासस