२०८१ मंसिर ८ , शनिवार

महानगरको दशैं लक्षित बजार अनुगमन तीव्र, १० दिनमा १३० पसलको अनुगमन

bajar-anugaman

सुनाखरी न्युज/ काठमाडौं ।

काठमाडौं महानगरपालिकाले बजार अनुगमनलाई तीव्रता दिएको छ । महानगरका अनुसार ८२ वटा पसलले मूल्य सूची नराखेको र ६२ वटाले व्यवसाय दर्ता नगरेको पाइएको हो ।

 

 

बागबजार, पुतलीसडक, कालीमाटी, सोल्टीमोड, महाराजगञ्ज, असन, जमल हात्तीसार, नक्साल, विशालनगर, हाँडीगाउँ, चाबहिल, मैजुबहाल, कुमारीगालसहित विभिन्न स्थानमा गरिएको अनुगमनका क्रममा २२ वटा पसलमा म्याद गुज्रिएका उत्पादन भेटिएको महानगरले जनाएको छ ।

महानगरका अनुसार अनुगमन टोलीले १०-२० असोजसम्म मा १३० वटा पसलको अनुगमन गरेको छ ।

 

 

तौल र गुणस्तरका आधारमा मूल्य सूची नराख्नु, खरिद बिक्री बिलको प्रयोग नहुनु, अधिकतम मूल्य र उपभोग्य मितिको ख्याल नहुनु आम समस्या देखिएको महानगरले जनाएको छ ।

पसलमा बेच्न राखिएका सामानहरूमध्ये प्याकेजिङ गरिएका जुस, कुकिज लगायत बिस्कुट, चकलेट, भुजिया, घिउ, अचार, विभिन्न खालका मसला, भिनेगर लगायतका खाद्य तथा पेय पदार्थहरु म्याद गुज्रेको पाइएको महानगरले जनाएको छ ।

महानगरको फुड टेक्नोलोजिस्ट, माइक्रोबायोलोजिस्ट नेतृत्वमा रहेका ३ वटा अनुगमन टोलीले दैनिक अनुगमन गरिरहेको जनाएको छ ।