२०८१ मंसिर १८ , मंगलबार

सरकारी अस्पतालहरुमा भीड व्यवस्थापन

Capture

डा बच्चुकैलाश कैनी।

नेपालका सरकारी अस्पतालहरु स्वास्थ्य सेवाको मेरुदण्ड हुन् । सबैको पहुँचमा भएर पनि हुनेखाने सहरिया वा उच्च वर्गकाहरु व्यवस्थापनका लागि सरकारी अस्पतालहरु कहिल्यै जान नहुने वा गए इज्जत जाने क्षेत्र जस्तै भए पनि सर्वसाधारण जनताका लागि सुलभ र सुपथ रुपमा स्वास्थ्य सेवा प्रदान गर्न सरकारी अस्पतालहरुको उल्लेख्य भूमिका छ । सरकारी अस्पतालहरुमा आधारभूतदेखि सबै प्रकारका विशिष्ट स्वास्थ्य सेवाहरु उपलब्ध छन् । सरकारी अस्पतालहरुले स्वास्थ्य जनशक्ति उत्पादन गर्न, उनीहरुको दक्षता अभिवृद्धि गर्न र देशभर स्वास्थ्य सञ्जाल विकास तथा विस्तार गर्न उच्च प्रकारको भूमिका खेलेका छन् । यसका लागि राज्यले निकै ठूलो रकम खर्च गरेको पनि छ । तर पनि सरकारी अस्पतालप्रति आम जनताको त्यति सकारात्मक दृष्टिकोण छैन । यसका मुख्य कारणहरुमध्ये सरकारी अस्पतालहरुको फितलो व्यवस्थापन, मागअनुसार कम स्रोतसाधन र जनशक्तिका कारण अस्पतालहरुमा लाग्ने भीड, सेवा लिन पर्खनुपर्ने लामो समय, अस्पतालमा कम गुणस्तरको सुविधा, स्वास्थ्यकर्मीहरुको बोलीव्यबहार आदि हुन् ।

अहिलेको अवस्थामा अधिकांश केन्द्रीय, विशिष्ट, प्रादेशिक र अधिकांश जिल्ला अस्पतालमा बिरामीहरुको भीड लाग्ने गरेको छ । यसरी भीड लाग्नुको प्रमुख कारण भनेको सरकारी स्वास्थ्य क्षेत्रमा माग र आपूर्तिको बीचमा अन्तर हुनु हो । अर्थात् अर्थशास्त्रको सिद्धान्त जस्तै माग बढी हुनु र स्वास्थ्य सेवा पर्याप्त नभएको अवस्थामा सरकारी अस्पतालहरुमा भीड लाग्छ । जब आवश्यक मात्रामा सरकारी अस्पतालहरुमा भौतिक पूर्वाधार, जनशक्ति, स्रोत र साधन उपलब्ध हुँदैन, तब चाहिए जति स्वास्थ्य सेवा र सुविधा उपलब्ध गराउन सकिँदैन । अनि स्वाभाविक रुपमा भीड बढ्छ । तसर्थ, सम्बन्धित निकाय र स्वास्थ्य संस्थाले बिरामीको भीड व्यवस्थापनका लागि कार्य योजना बनाई उचित कदम चाल्नुपर्छ । त्यसो गरेमा हरेक स्वास्थ्य संस्थामा लाग्ने बिरामीको भीड व्यवस्थापन हुन्छ ।

पछिल्लो तथ्याङ्कअनुसार काठमाडौँ उपत्यकामा आठ सय ५० जनसङ्ख्याका लागि एकजना चिकित्सक भए पनि नेपालको ग्रामीण भेगमा भने हरेक एक लाख ५० हजार जनसङ्ख्याका लागि एकजना चिकित्सक उपलब्ध छन् । काठमाडौँ उपत्यकाको तथ्याङ्कलाई बिर्सने र नेपालको ग्रामीण भेगको स्वास्थ्य सेवाको दृश्य हेर्ने हो भने अहिले पनि नेपालमा सबै जनसङ्ख्याका लागि विश्व स्वास्थ्य सङ्गठनले तोकेको हरेक एक हजार मानिसका लागि एक चिकित्सक उपलब्ध छैनन् ।

नेपालमा हरेक वर्ष झन्डै दुई हजार एमबिबिएस र करिब त्यसको आधा विशिष्ट पोस्ट ग्र्याजुएट चिकित्सक जनशक्ति स्वास्थ्य सेवाका लागि तयार हुन्छन् । के पर्याप्त चिकित्सक वा स्वास्थ्यकर्मी हुँदैमा अस्पतालमा भीड नलाग्ने पक्कै होइन । सरकारी अस्पतालहरुमा भीड हुनाका कारण चिकित्सकको कमी, स्रोत र साधनको मात्रै हैन सरकारी अस्पतालको कमजोर व्यवस्थापन पनि भीड लाग्नुको अर्को मुख्य कारण हो । सरकारी अस्पतालहरुको नेतृत्व गर्ने व्यक्ति जिम्मेवार, जवाफदेही, पारदर्शी र दक्ष हुने हो भने सरकारी अस्पतालहरुको व्यवस्थापनमा व्यापक सुधार गर्न सम्भव छ । सेवाग्राहीहरुले चाहेजस्तो सेवा उपलब्ध गराउन र उनीहरुलाई सन्तुष्ट पार्न अस्पतालको नेतृत्व र व्यवस्थापनको अहम् भूमिका हुन्छ ।
सरकारी स्वास्थ्य सेवाको सन्दर्भमा देखिएको कमजोरी के पनि हो भने अस्पतालको नेतृत्वमा दक्ष र राम्राभन्दा पनि मन्त्री वा नेताहरुको नजिक हुने वा ‘हाम्रा’ मान्छेहरुलाई ठूला सरकारी अस्पतालहरुको नेतृत्व वा कार्यकारी पदमा नियुक्ति दिनु हो । त्यसरी आएको नेतृत्वले न त सही स्रोत र साधनको उपयोग गर्न सक्छ, न त अस्पतालको सेवासुविधा र गुणस्तरको सुधार नै गर्न सक्छ । त्यसैले त्यस्तो प्रवृत्तिको अन्त्य गरी सरकारी अस्पतालहरुको नेतृत्व नियुक्ति गर्नका लागि एउटा छुट्टै स्वतन्त्र निकायको स्थापना हुनु जरुरी छ । त्यसले त्यस्ता पदहरुमा नियुक्तिको मापदण्ड तयार गरी विशेष प्रतियोगिताबाट योग्य र सक्षम व्यक्ति नियुक्ति गर्न सकोस् ।

अस्पताल एक विशिष्ट किसिमको संस्था हो । अस्पताल सञ्चालन गर्नका लागि समग्र स्वास्थ्य सेवा व्यवस्थापनजस्तै, रणनीति बनाउनसक्ने ज्ञान र दक्षता, आर्थिक व्यवस्थापन, कर्मचारी व्यवस्थापन, क्लिनिकल र अन्य सेवा व्यवस्थापन, नियम कानुन आदिको ज्ञान जरुरत पर्छ । अस्पतालहरुको नेतृत्वदायी भूमिकामा केवल चिकित्सकहरुलाई मात्रै नियुक्ति दिने गरिन्छ । त्यस्तो व्यक्ति अस्पताल व्यवस्थापन, नेतृत्व र सञ्चालनमा तालिम प्राप्त छभने दिनु राम्रै हुन्छ । कुनै चिकित्सक आफ्नो मेडिकल क्षेत्रमा विज्ञ हुन सक्छ तर ऊ अस्पताल व्यवस्थापनको पनि विज्ञ नहुन पनि सक्छ । त्यसैले सरकारी अस्पतालको नेतृत्व लिने व्यक्तिलाई स्वास्थ्य मन्त्रालयले विशेष किसिमको स्वास्थ्य सेवा व्यवस्थापन तालिम दिएर अस्पतालको स्रोत र साधनको अधिकतम उपयोग गरी भीड घटाउने कार्ययोजना बनाउने, स्वास्थ्य सेवा प्रभावकारी बनाउने, अस्पतालको बजेटलाई सही रुपमा खर्च गर्ने, सबै सेवाग्राहीलाई सन्तुष्ट बनाउनेजस्ता प्रभावकारी काम गर्नसक्ने बनाउनु आवश्यक हुन्छ ।

सरकारी अस्पतालहरुमा भीड कम गर्न सूचना प्रविधिको अधिकतम उपयोग गर्नु पनि जरुरी छ । समय तालिकाको व्यवस्थापन, नयाँ वा फलोअप बिरामीको नाम अग्रिम रुपमा अनलाइन पद्धतिबाट दर्ता गर्ने, मेडिकल रेकर्ड व्यवस्थापन गर्न, एकीकृत सूचना प्रणालीद्वारा सबै सरकारी अस्पतालहरुको स्रोत र साधन उपयोग गर्नेदेखि दुर्गम क्षेत्रमा टेलिमेडिसिन सेवा उपलब्ध गराउन सूचना प्रविधिको उपयोग गर्न सकिन्छ । एकीकृत सूचना प्रणालीद्वारा स्वास्थ्य सेवाको माग र आपूर्ति, स्रोत र साधनका बारेमा सबै स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थाहरुलाई दैनिक तथ्याङ्क उपलब्ध गराउने हो भने स्वास्थ्य सेवामा माग र आपूर्तिको सन्तुलन मिलाउन सकिन्छ । ग्रामीण भेग वा स्वास्थ्य सेवाको पहुँच नपुगेका जनतालाई टेलिमेडिसिनमार्फत फलोअप वा नियमित स्वास्थ्य सेवा दिने हो भने अस्पतालको भीड घटाउन सकिन्छ ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल नेतृत्वमा आएपछि सङ्घीय तथा केन्द्रीय अस्पतालहरुमा अनलाइन पद्धतिबाट नाम दर्ता प्रणाली सुरु भएको छ । यो कदम निकै स्वागतयोग्य छ । अस्पतालहरुमा भीड व्यवस्थापन गर्न र घटाउनका लागि यसको सकारात्मक प्रभाव परेको छ । यसका लागि आमनागरिकले थाहा पाउनेगरी जनचेतना बढाउन, प्रयोगमैत्री प्रविधि उपयोग गर्न र सूचना प्रविधिको पहुँच आम नागरिकसम्म पु¥याउन सम्बन्धित निकायले उल्लेख्य भूमिका खेल्नु जरुरी छ । हरेक अस्पतालमा आउने बिरामीहरुलाई पहिलोपटक नाम दर्ता गरिसकेपछि फलोअपमा आउँदा वा अरू कसैको लागि अनलाइनबाट नाम दर्ता गर्दा के कसरी गर्ने भन्ने जानकारीसहितको पर्चा दिने, अस्पतालको बहिरङ्ग र अन्य क्षेत्रमा जानकारीमूलक बोर्ड राख्ने र स्वास्थ्यकर्मीहरुले यससम्बन्धी जानकारी बिरामी वा बिरामीका आफन्तलाई दिने हो भने अनलाइन नाम दर्ता प्रणाली लोकप्रिय हुनेछ र यसको प्रभावकारिता पनि बढ्नेछ ।

हरेक सरकारी अस्पतालका आ–आफ्नै विशेषता र कमजोरीहरु पनि हुन्छन् । तिनको पहिचान गरी आफ्नो अस्पतालको पूर्वाधार, जनशक्ति, स्रोत र साधनको कसरी अधिकतम उपयोग गर्न सकिन्छ, अस्पतालको सेवा र गुणस्तरको कसरी सुधार गर्न सकिन्छ, त्यसको अध्ययन गरी कार्ययोजना बनाउने र लागू गर्ने काम अस्पताल नेतृत्वको हो । यदि अस्पतालमा यस्तो अध्ययन गर्नसक्ने र योजना बनाई लागू गर्नसक्ने जनशक्ति छैन भने यस्तो काम गर्नसक्ने कुनै फर्म वा विशिष्ट दक्ष परामर्शदाताको सहयोग लिन सकिन्छ । यस्तो पुनरवलोकन र सुधार योजना बनाउनका लागि स्वास्थ्य व्यवस्थापन क्षेत्रमा केही व्यवस्थापकीय विधि वा तरिका पनि प्रचलनमा छन् । यी विधिहरु नेपालमा पनि प्रयोग गर्न सकिन्छ । हरेक सरकारी अस्पतालले अस्पतालको सेवा र गुणस्तरको सुधारका लागि कार्ययोजना बनाई सेवा लागू गर्दा अस्पतालमा भीड कम हुने मात्रै कम हुने हैन, व्यवस्थापकीय कमी कमजोरीमा पनि सुधार ल्याउन सकिन्छ ।

कुनै पनि स्वास्थ्य संस्था वा अस्पतालमा बिरामीको भीड पूर्णरुपमा सधँै शून्यमा झार्न सकिँदैन । स्वास्थ्य सेवामा यो परिकल्पना पनि गरिँदैन । स्वास्थ्य सेवा वा अस्पतालको प्रकृति नै त्यस्तो हो, जहाँ कहिलेकहीँ नसोचेको बिरामीको भीड लाग्नसक्छ । अस्पतालको क्षमता र बिरामीको चापबीच असन्तुलन हुनसक्छ । अस्पताल व्यवस्थापनको सिद्धान्तमा बिरामीलाई उपलब्ध गराउने सेवा र सुविधाहरुको गुणस्तर सुधार, बिरामीलाई सेवाप्रति सन्तुष्ट पार्दै भीड व्यवस्थापन गर्ने तरिका र विधिका बारेमा पढ्ने र पढाउने गरिन्छ । यस्तो तालिम बिरामीको भीड व्यवस्थापन गर्न स्वास्थ्य संस्थाको नेतृत्व लिने व्यक्तिले लिनु जरुरी छ ।

नेपालको सरकारी निकायहरुमा स्रोत र साधनको दुरुपयोग हुन्छ वा सही मात्रामा सदुपयोग हुँदैन । कतिपय स्रोत साधनको अधिकतम र उचित उपयोग हुँदैन र व्यर्थमा खेर गइरहेको हुन्छ । कतिपय भौतिक पूर्वाधार, जनशक्ति र स्रोत जहाँ जसरी प्रयोग हुनुपर्ने हो, त्यसरी प्रयोग हुँदैन । स्वास्थ्य क्षेत्रमा पनि त्यस्तै खेर गएको पूर्वाधार, स्रोत, साधन र जनशक्तिको पहिचान गरी उचित रुपमा उपयोग गर्नुपर्ने हुन्छ । विकसित मुलुकहरुमा सुधारिएको र प्रभावकारी स्वास्थ्य सेवाका लागि खेर गएको स्रोत र साधनको पहिचान गरी स्वास्थ्य सेवा प्रभावकारी बनाउन विभिन्न कार्यक्रम र योजना बनाई लागू गर्ने प्रचलन छ ।

कुनै पनि स्वास्थ्य सेवा, कार्यक्रम र योजना चुनौतीरहित हुँदैनन् । बेलायतजस्तो विकसित मुलुकमा पनि सरकारले बिरामीलाई समयमा नै स्वास्थ्य सेवा दिन, भीड व्यवस्थापन गर्न र बिरामीको चाप थेग्न सकेको छैन । अहिलेको अवस्थामा सरकारी अस्पतालहरुमा केही ज्वलन्त समस्याहरू र सेवा प्रदान गर्न चुनौतीहरु पनि छन् । सरकारी अस्पतालहरुको भीड कम गरी स्वास्थ्य सेवालाई प्रभावकारी, चुस्त र सर्वसुलभ बनाउन यस्तो स्वास्थ्य सेवा कार्यक्रमहरु तर्जुमा गरी लागू गर्दा सेवाग्राही, स्वास्थ्य संस्था र स्वास्थ्यकर्मी सबैका लागि उपयोगी हुनेछ । (लेखक बेलायतमा स्वास्थ्य सेवा व्यवस्थापनको क्षेत्रमा परामर्शदाता र प्राध्यापकका रुपमा कार्यरत हुनुहुन्छ)  रासस