सुनाखरी न्युज/ काठमाडौं।
नवरात्रको सातौँ दिन आज । सप्तमी अर्थात् फूलपातीका दिन पूजा गरिने शक्तिस्वरूपा भगवतीलाई कालरात्रि भनिन्छ। कालो घना वर्णकी, गधा वाहन भएकी, तीन आँखा भएकी, चार हात भएकी, उक्त हातहरूमा क्रमशः तरबार, मसाल, वरमुद्रा र अभयमुद्रा लिएकी देवी कालरात्रि हुन्।
यस विशेष सातौँ दिन दुर्गाको सातौँ स्वरूप कालरात्रिको विधि विधान अनुसार अनुष्ठान गरेर गणेशको रूपमा स्थापना गरिएको कलशको छेउमा नौवटा स९साना ढुङ्गाहरूलाई नवदेवीका प्रतिमाका रूपमा स्थापित गरी नैवेद, फलफूल आदि चढाएर पूजा गर्ने गरिन्छ ।
माता कालरात्रिको आराधनाको समयमा भक्तलाई आफ्नो मनको भानु चक्र अर्थात् शिर मध्य स्थित गर्नुपर्छ । यो आराधनाको फलस्वरूप भानु चक्रको शक्ति जागृत भएर आउँछ । माता कालरात्रिको भक्तिले मनका हर प्रकारका भय नष्ट हुँदै जान्छन् भन्ने मान्यता छ । जीवनका हर समस्याको पलभरमा हल गर्ने शक्ति प्राप्त हुने तथा शत्रुको नाश गर्ने माता कालरात्रि आफ्ना भक्तलाई हर परिस्थितिमा विजय दिलाउँछिन् भन्ने विश्वास छ । सप्तमीको दिन माता कालरात्रिलाई गुडको वस्तुको भोग दिइन्छ । त्यसै गरि गरिबलाई दान पनि गरिन्छ । यसो गर्नाले दरिद्रता भाग्दछ ।
आजको दिन केरा, हलेदो, धान, अशोक, बेलपत्र, दारिम, धानको वाला, केराको बोट, जयन्ती र उखुलगायतका लहरापात अनि विभिन्न प्रकारको फूलपात मिश्रित फूलपाती भित्राइन्छ । यसदिन कालरात्रि देवीका साथसाथै विद्या तथा सङ्गीतकी देवी सरस्वती माताको पनि पूजा गरिन्छ ।