२०८१ आश्विन ३० , बुधवार

दसैँपछिको पहिलो शेयर कारोबार आज, बजारले कुन बाटो समाउला ?

Share-Working

सुनाखरी न्युज/ काठमाडौ।

दसैँको बिदापछि आज (मंगलबार) देखि सेयर बजार खुला हुँदैछ । गत साता बुधबारको कारोबारपछि बन्द भएको बजार आजबाट खुल्न लागेको हो ।

दसैँअघिको केही समय सेयर बजार उतारचढावपूर्ण रह्यो । साउन ३१ गते ३००० बिन्दुलाई छोएको बजार परिसूचक त्यसपछि करिब दुई महिनादेखि निशाजनक छ । उतारचढावकै बिच बजारले घट्दो क्रमलाई समात्दै आएको छ । योबिचमा बजार करेक्सन भएर असोज तेस्रो सातासम्म २४६४ अंकसम्म झरेको थियो । यसपछि भने केही सुधार भएर बजार अहिले २६६८ अंकमा पुगेको छ ।

 

नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष तुलसी ढकाल दसैँ अघि र पछिको अवस्थामा केही तात्त्विक फरक रहेको बताउँछन् ।

अहिले हामी पहिलो त्रैमासको अन्तिम समयमा छौँ । बैंकको ब्याज र किस्ता तथा सरकारलाई राजश्व तिर्ने समय अन्तिम चरणमा आइपुगेको छ । तर, अब यसका लागि सेयर बेच्ने समय भने दसैँ अघि नै सकिएको छ । भोलि बेच्ने सेयरको पैसा आउन कम्तीमा पनि दुई दिन लाग्ने भएकोले अबको बजारमा त्रैमास अन्त्यको दबाब नपर्ने ढकाल बताउँछन्, यसले बजारलाई थप उचाइमा लैजान सहयोग गर्ने उनको भनाइ छ ।

अहिले सूचीकृत कम्पनीको लाभांश घोषणाको सिजन पनि सुरु भएको छ । केही दर्जन संस्थाले लाभांश घोषणा गरिसकेको भए पनि धेरैजसो कम्पनीको लाभांश घोषणा हुनै बाँकी छ । असोज अन्तिमसम्म वित्तीय विवरण तयार गरेर कर दाखिला गरिसक्नुपर्ने व्यवस्था रहेका कारण अब धमाधम लाभांश घोषणा हुँदैछ । यसले पनि बजारलाई चलायमान बनाउने अपेक्षा रहेको ढकाल बताउँछन् ।

 

पछिल्लो समय अर्थतन्त्रमा केही चलायमान अवस्था देखिन थालेको छ । साउन अन्त्यसम्म समेत नदेखिइको उत्साह पछिल्लो केही सातामा देखिएको छ । पछिल्लो समय बैंकमा ऋणको माग बढ्दै गएको देखिन्छ ।