२०८१ कार्तिक २ , शुक्रवार

विपक्षी दलहरूको बैठकमा किन गए लोसपा र नाउपा अध्यक्ष ठाकूर र श्रेष्ठ ?

kp deuba prachanda

सुनाखरी न्युज/ काठमाडौं ।

प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आह्वानमा शुक्रबार नयाँ बानेश्वरमा विपक्षी दलहरूको बैठक बस्यो।

 

प्रतिपक्षी दल नेता प्रचण्डले बोलाएको बैठकमा लोकतान्त्रिक समाजवादीका अध्यक्ष महन्थ ठाकुर र नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ पनि पुगे। केपी शर्मा ओली नेतृत्वको संघीय सरकारमा लोसपाबाट शरत सिंह भण्डारी श्रममन्त्री र नाउपाबाट अरूणकुमार चौधरी पर्यटन राज्यमन्त्री छन्।

सुरूमा लोसपा अध्यक्ष ठाकुरको कुरा गरौं। अध्यक्ष ठाकुरको सचिवालयले दिएको जानकारीअनुसार माओवादी अध्यक्ष प्रचण्डले फोन गरेर भेटौं भनेका थिए। सोही जानकारीअनुसार प्रचण्डलाई भेट्न ठाकुर आएका हुन्।

अध्यक्ष ठाकुरका स्वकीय सचिव सत्येन्द्रकुमार मिश्रले प्रतिपक्षी दलहरूको बैठकका लागि भनेर खबर नआएको बताए।

प्रतिपक्षी दलको बैठक भनेर आफूहरूलाई सूचना नदिइएको पनि मिश्रले बताएका छन्।

नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठसँगले पनि प्रतिपक्षी दलको बैठकका रुपमा आफूलाई खबर नगरिएको बताइन्। आफूलाई बैठकका लागि मात्र निम्तो गरिएको उनको भनाइ थियो।

 

प्रतिनिधि सभामा लोसपा र नाउपाका चार-चार जना सांसद छन्।

बैठकमा प्रतिपक्षी दलहरू माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा (एकीकृत समाजवादी) र आम जनता पार्टीका शीर्षसहित नेताहरू सहभागी थिए।