२०८१ मंसिर १० , सोमवार

राजस्व सङ्कलनको लक्ष्य हासिल गर्न बजार अनुगमन

paisa

सुनाखरी न्युज/ काठमाडौं ।

आन्तरिक राजस्व कार्यालयले आर्थिक वर्ष २०८१र८२ को पहिलो त्रैमासिकमा रु ६९ करोड २८ लाख ५७ हजार राजस्व सङ्कलन गरेको छ । उक्त रकम आव २०८०र८१ को सोही अवधिका तुलनामा नौ दशमलव ८१ प्रतिशतले बढी हो । कार्यालयको तथ्याङ्कानुसार गत आव २०८०र८१ को पहिलो त्रैमासिकमा रु ६३ करोड नौ लाख ३५ हजार राजस्व सङ्कलन गरेको थियो । अन्तरिक राजस्व कार्यालयले चालु आव २०८१र८२ मा रु चार अर्ब ६१ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको प्रमुख कर अधिकृत कृष्णचन्द्र काफ्लेले जानकारी दिनुभयो ।

“चालु आवको पहिलो त्रैमासिकमा रु ८१ करोड ४० लाख ५४ हजार राजस्व सङ्कलनको लक्ष्य रहेकामा लक्ष्यको ८५ दशमलव ११ प्रतिशत राजस्व सङ्कलन भयो”, उहाँले भन्नुभयो, “चालु आवको पहिलो त्रैमासिकमा गत आवको सोही अवधिको तुलनामा राजस्व असुली बढे पनि चालु आवमा राजस्व असुलीको लक्ष्य बढेर आएकाले सोअनुसार सङ्कलन हुन सकेन ।”

कार्यालयले पहिलो त्रैमासिकमा आयकरबाट रु २४ करोड पाँच लाख ४९ हजार, ब्याजबापत रु दुई करोड ८८ लाख ७६ हजार, मूल्य अभिवृद्धि करबापत रु २६ करोड ४२ लाख ३५ हजार, अन्तःशुल्कबापत रु १५ करोड आठ लाख ९१ हजार राजस्व सङ्कलन गरेको छ ।

कार्यालयले राजस्व सङ्कलनको लक्ष्य हासिल गर्न निरन्तर बजार अनुगमन र निगरानी गरिरहेको प्रमुख कर अधिकृत काफ्लेले बताउनुभयो । उहाँका अनुसार स्थानीय उद्योग वाणिज्य सङ्घहरूको समन्वयमा निरन्तर करदाता शिक्षा कार्यक्रम सञ्चालन भइरहेको छ । भारतसितको खुला सिमानाका कारण अवैध रूपमा हुने गरेको निकासी पैठारीले राजस्व सङ्कलनमा असर परिरहेको उहाँको भनाइ थियो । रासस