२०८१ मंसिर १० , सोमवार

आज रवि र छविलाई सँगसँगै अदालत उपस्थित गराइँदै

rabi-lamichhane-and-chhabilal-joshi-1024×500

सुनाखरी न्युज/ पोखरा ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र पूर्व डीआईजी छविलाल जोशीलाई आज एकसाथ कास्की जिल्ला अदालतमा उपस्थित गराइँदै छ ।

पोखराको सूर्यदर्शन सहकारी प्रकरणमा छविलाललाई गत असोज ६ गते पक्राउ गरी पोखरा ल्याइएको थियो भने रविलाई गत शुक्रबार काठमाडौंमा पक्राउ गरी रातारात पोखरा ल्याइएको थियो ।

 

उनीहरुमाथि अनुसन्धानका लागि थपिएको म्याद आज सकिने भएपछि एकसाथ अदालतमा उपस्थित गराउन लागिएको प्रहरी स्रोतले जनाएको छ ।

गत शुक्रबार रवि पक्राउ परेकै दिन पूर्व डीआईजी छविलालको गत असोज १७ गतेबाट लागू हुने गरी २० दिनको म्याद थप भएको थियो । कास्की जिल्ला अदालतमा आइतबार उपस्थित गराइएका रविको पक्राउ परेकै दिन शुक्रबारबाटै लागू हुने गरी ६ दिनको म्याद थप भएको थियो ।

 

जिल्ला प्रहरी कार्यालय कास्कीमा सूर्यदर्शन सहकारीको रकम गोर्खा मिडिया मार्फत अपचलन गरेको भन्दै गोर्खा मिडिया प्रालिका पूर्व प्रबन्ध निर्देशक रवि लामिछाने, सञ्चालक छविलाल जोशी सहित १८ व्यक्ति र संस्था विरुद्ध किटानी जाहेरी परेको थियो । यही प्रकरणमा गोर्खा मिडिया प्रालिका तत्कालीन अध्यक्ष जीबी राई भने फरार छन् ।

गोर्खा मिडिया मार्फत सहकारीको रकम अपचलन भएको भन्दै सहकारी ठगी र दुई वा दुईभन्दा बढी समूह मिलेर रकम दुरुपयोग भएको भन्दै रवि र छवि विरुद्ध संगठित अपराधको मुद्दा लगाइएको छ ।

पार्टी सभापति रवि लामिछाने पक्राउ परेपछि रास्वपाले त्यसलाई राजनीतिक प्रतिशोध भनेको छ र सिंगो पार्टी पंक्ति पोखरा उतारेर विरोध प्रदर्शन गरिरहेको छ ।