२०८१ मंसिर ८ , शनिवार

युरोपमा मुस्लिम विरोधी भेदभावमा तीव्र वृद्धि : ईयू अधिकार एजेन्सी

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

इजरायल विरुद्ध हमासको आक्रमणले युरोपमा मुस्लिम विरोधी घृणामा तीव्र वृद्धि भएको उल्लेख गर्दै युरोपका मुस्लिमहरूले अझ बढी जातिवाद र भेदभावको सामना गरिरहेको युरोपेली सङ्घ (ईयू)को अधिकार एजेन्सीले बिहीबार जनाएको छ ।‘युरोपियन युनियन एजेन्सी फर फन्डामेन्टल राइट्स (एफआरए)’का अनुसार सन् २०२३ को अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गरेपछि गाजामा प्रतिशोधात्मक आक्रमण सुरु भएपछि धेरै ईयू राष्ट्रहरूले मुस्लिम विरोधी कार्यहरूमा वृद्धि भएको जनाएका छन् ।

“हमासको आक्रमणपछि मुस्लिम विरोधी घृणा र यहूदी विरोधी भावना बढेको कुरा प्रकाशमा ल्याउने थुप्रै युरोपेली सङ्घका देशबाट आएका रिपोर्टबारे हामी सचेत छौं”, एफआरएका प्रवक्ता निकोल रोमेनले बताउनुभयो ।युरोपेली सङ्घमा लगभग दुई मध्ये एक मुस्लिमले आफ्नो दैनिक जीवनमा जातिवाद र भेदभावको सामना गर्छन्, जुन सन् २०१६ मा एफआरए सर्वेक्षणको अन्तिम संस्करणमा फेला परेको ३९ प्रतिशतबाट तीव्र वृद्धि हो ।भेदभावको सबैभन्दा बढी दर अस्ट्रिया, जर्मनी र फिनल्यान्डमा रेकर्ड गरिएको छ ।

“हामीले युरोपमा मुस्लिम समुदाय विरुद्ध जातिवाद र भेदभावमा चिन्ताजनक वृद्धि देखिरहेका छौं”, एफआरएका निर्देशक सिर्पा राउटिओले भन्नुभयो ।“यो मध्यपूर्वमा द्वन्द्वले उत्प्रेरित भएको हो र महाद्वीपभरी देखिएको अमानवीय मुस्लिम विरोधी प्रदर्शनले स्थिति अझ खराब बनाएको छ”, राउटिओले बताउनुभयो ।अक्टोबर सन् २०२१ को अक्टोबर देखि सन् २०२२ को अक्टोबरसम्म १३ वटा युरोपेली देशका ९ हजार ६ सय भन्दा बढी मुस्लिमहरुको सर्वेक्षण गरिएको थियो ।मुस्लिम महिला, पुरुष र बालबालिकाहरू धर्मका कारण मात्र नभई छालाको रङ र जातीय वा आप्रवासी पृष्ठभूमिका कारण पनि हिंसामा परेको एफआरएले उल्लेख गरेको छ ।  रासस/एएफपी