२०८१ पुष २८ , आइतवार

न्यायाधीशले रविलाई भने : चर्को बोल्नु पर्दैन, यो अदालत हो

Rabi Pokhara

सुनाखरी न्युज/ पोखरा ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न कास्की अदालतले प्रहरीलाई अनुमति दिएको छ ।

सहकारी ठगी तथा संगठित अपराधको अभियोगमा पक्राउ परेका  लामिछानेलाई प्रहरीले २५ दिनको म्याद थप्न माग गरेको थियो, ४ घन्टासम्म पेचिलो बहसपछि जिल्ला न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले रविसहित ३ जनालाई ७ दिन हिरासतमा राख्न अनुमति दियो ।

 

अब गोर्खा मिडियाका तत्कालीन प्रवन्ध निर्देशक तथा सञ्चालक रवि, पूर्व सञ्चालक तथा पूर्व डीआईजी छविलाल जोशी र सूर्यदर्शन सहकारी तथा गोर्खा मिडियाका अध्यक्ष गितेन्द्रबाबु राई (जीबी) सँग मिलेर रकम अपचलन गरेको अभियोगमा लिला पछाइ थप सात दिन प्रहरी हिरासतमा रहने छन् ।

२ कात्तिकमा प्रक्राउ परेका रविलाई म्याद थपका लागि आज बिहीबार अदालत लैजानु पर्ने थियो । रवि पक्राउ परेदेखि नै पोखरामा रहेर सडक प्रदर्शनको नेतृत्व गरेका रास्वपा नेताहरुले विहानै पत्रकार सम्मेलन राखे । लामिछानेलाई हिरासतमै राख्ने षड्यन्त्र गरेको दाबी गरे । साथै रविलाई अदालत लैजाने क्रममा विरोध प्रदर्शन गर्ने रास्वपाको तयारी थियो ।

 

 

सरकार पक्षको दाबी सुनेपछि रविले आफैंले कुरा राख्न चाहे । रविले आक्रोशित हुँदै भनाइ राखेपछि न्यायाधीश पौडेलले चर्को नबोल्न आदेश दिएका थिए । ‘आफ्नो कुरा राख्दा आक्रोशित हुँदै चर्को बोल्नु पर्दैन, यो अदालत हो’, न्यायाधीश पौडेलले रविलाई सम्झाए त्यसपछि सम्हालिएका रविले आफू अन्यायमा परेकाले बोलीमा आक्रोश निस्किएको भन्दै माफी मागे ।

अदालतले ७ दिन म्याद थपेसँगै रास्वपा सभापति रवि तिहार नसकिँदासम्म हिरासतमै रहने छन् । अदालतको अनुसन्धानको लागि दिएको म्याद सकिँदा ५ दिन तिहारको सरकारी बिदा सुरु भइसक्ने भएकाले २० गतेसम्मै उनीहरु हिरासतमा रहनेछन् ।