२०८१ मंसिर ८ , शनिवार

बंगालको खाडीमा चक्रवात, नेपाालमाा कस्तो पर्छ अशर ?

DANA-cyclonic-storm

सुनाखरी न्युज/ काठमाडौं ।

बंगालको खाडीमा शक्तिशाली चक्रवाती तुफान विकसित भएको छ । ‘दाना’ नाम दिइएको यो तुफान १२० किलोमिटर प्रतिघण्टाको वेगमा अघि बढेको छ ।

यसले क्षति पुर्‍याउन सक्ने भएकाले भारतको मौसम विज्ञान विभागले उच्च सतर्कता अपनाउन भनेको छ । मौसमविदहरुको सुझावको आधारमा पश्चिम बंगाल र ओडिशा सरकारले जोखिम क्षेत्रबाट तीन लाख जनालाई सुरक्षित स्थानमा सारिएको छ ।

 

एक सयभन्दा बढी रेलको सेवा स्थगित गरिएको छ । विद्यालयसहितका सबै शैक्षिक संस्थालाई २५ अक्टुबरसम्म बन्द गरिएको छ । कर्मचारी, चिकित्सक र स्वास्थ्यकर्मीहरुको बिदा रद्द गरिएको छ । साथै हवाई र तटरक्षकसहितका उद्धारकर्ताहरुलाई हाई अलर्टमा राखिएको छ ।

यो तुफान आज साँझ ओडिशाको पुरी र पश्चिम बंगालको सागर द्वीपको किनारमा पुग्ने अनुमान छ । भारत मौसम विज्ञान विभागको महानिर्देशक मृत्युञ्जय महापात्रका अनुसार पश्चिम बंगालको मेदिनीपुर, परगाना र झाडग्राम जिल्ला बढी प्रभावित हुने अनुमान छ । ती जिल्लाका एक वा दुई स्थानमा अति भारी वर्षा हुने सम्भावना छ ।

दाना चक्रवातको सबैभन्दा बाहिरी घेराका हल्का बादलमात्र नेपालसम्म आउने मौसमविदले बताएका छन् । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद गोविन्द झाका अनुसार चक्रवातको असरले कोशी प्रदेशको तराईदेखि पहाडसम्मै हल्का वर्षाको सम्भावना छ । तर अन्य स्थानमा खासै वर्षाको सम्भावना छैन ।

‘दाना चक्रवातले उछुट्याएको बादलले गर्दा कोशी प्रदेशमा चाहिँ सामान्य प्रभाव देखिन्छ । तर अन्त खासै छैन । मधेश र बागमती प्रदेशमा हल्का बादल लागे पनि कोशी प्रदेशमा जस्तो वर्षा हुँदैन,’ उनले भने ।