सुनाखरी न्युज/ काठमाडौं ।
अवतरण अनुमति सकिएको एयर एसियाको जहाज काठमाडौँ आएपछि लामो समय आकाशमा ‘होल्ड’ हुन पुगेको छ । बैंककबाट काठमाडौँका लागि उडेको जहाजले अवतरणको अनुमति नपाएपछि १३ नटिकल माइलमा होल्ड गरिएको थियो । उक्त जहाज २ बजे काठमाडौँमा अवतरण गर्नुपर्ने तालिका थियो ।
तर, अनुमति सकिएकाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले अवतरण गर्ने अनुमति दिएन । त्यसपछि जहाज काठमाडौँमाथिको आकाशमा होल्ड भयो ।विमानस्थल स्रोतका अनुसार एयर एसियाको अवतरण अनुमति शनिबारसम्म मात्रै थियो । आइबारदेखि ‘विन्टर सेड्युल’ लागु भएकाले उक्त जहाजलाई विमानस्थलले काठमाडौँमा अवतरण गर्न दिएन ।
अनुमति पाएपछि एयर एसिया २ बजेर ३७ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।त्रिभुवन विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले जहाजमा रहेका यात्रुको सुरक्षा र मानवीयताका आधारमा जहाजलाई काठमाडौंमा अवतरण अनुमति दिइएको बताए ।