२०८१ कार्तिक ३० , शुक्रवार

गैरआवासीय नेपाली अवैतनिक राजदूत हुन् : गृहमन्त्री लेखक

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

गृहमन्त्री रमेश लेखकले गैरआवासीय नेपालीले नेपालको राष्ट्रियता बलियो बनाएको बताउनुभएको छ ।गैरआवासीय नेपाली दिवस तथा वार्षिक साधारणसभा कार्यक्रममा आज बिहान बोल्दै गृहमन्त्री लेखकले गैरआवासीय नेपाली नेपालका अवैतनिक राजदूत भएको बताउनुभयो ।“नेपालका लागि केही गर्ने उद्देश्य राख्नुभएको छ । जुन देशको नागरिक भए पनि नेपाली हुँ भनिराख्नुभएको छ”, उहाँले भन्नुभयो, “गैरआवासीय नेपाली अवैतनिक राजदूत हुनुहुन्छ । तपाईंहरु रहेको देशमा तपाईंको अनुहार र व्यवहारमा नेपाल देख्छन् । तपाईंहरु संसारभर फैलिँदा नेपालको राष्ट्रियता थप बलियो बनाएको छ ।”

उहाँले गैरआवासीय नेपालीको आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार सम्बोधन गर्न सरकार कानुन संशोधनको तयारीमा रहेको जानकारी दिनुभयो ।“तपाईंहरु पनि त्यसरी नै आउनुहोस् । कानुन संशोधनका लागि हामीले गृहकार्य गरिरहेका छौँ । तपाईं पनि गृहकार्य गरेर आउनुहोस्”, उहाँले अगाडि भन्नुभयो, “गैरआवासीय नेपालीको उद्देश्य नेपालको आर्थिक उन्नति भएको भन्दै संसारमा नेपालीहरुले उत्कृष्ट काम गरिरहनुभएको छ ।” लोकतन्त्र अनुशासनको पद्धति भएको भन्दै उहाँले लोकतन्त्र अराजकता नभएको बताउनुभयो ।

यसैगरी गैैरआवासीय नेपाली सङ्घ (एआरएनए)का अध्यक्ष डा बद्री केसीले लगानीमैत्री वातावरण भए गैरआवासीय नेपाली नेपालमा लगानी गर्न उत्सुक रहेको बताउनुभएको छ । “अहिलेसम्म गैरआवासीय नेपालीहरुले नेपालमा लुकेर गरेकै लगानी एक खर्ब रहेको छ । किनभने नेपालमा देखिएर लगानी गरेपछि राष्ट्रीयकरण पो हुने हो कि भन्ने डर थियो”, उहाँले भन्नुभयो, “गैरआवासीय नेपालीहरुलाई नागरिकता उपलब्ध गराएर लगानीका लागि सहज वातावरण मिलाएमा आगामी दिनमा अझै बढी नेपालमा लगानी भित्रने छ ।”

आफूहरु एकताको विरोधी नभएको भन्दै उहाँले सबैलाई मिलेर अगाडि बढ्दै एनआरएनएको उद्देश्य पूरा गर्न एकजुट हुनुपर्नेमा केसीको जोड रहेको छ । उपाध्यक्ष डा हेमराज शर्माले नेपालको समृद्धिका लागि एनआरएनएले महत्वपूर्ण भूमिका खेल्ने भन्दै एनआरएनएलाई सहज रुपमा नागरिकता उपलब्ध गराउनुपर्नेमा जोड दिनुभएको छ ।पूर्वअध्यक्ष उपेन्द्र महतोले एनआरएनएमा देखिएका विवादको समाधान गरेर सबैलाई मिलाएर अगाडि बढ्नुपर्ने आजको आवश्यकता रहेको बताउनुभएको छ । रासस