२०८१ पुष ७ , आइतवार

सयपत्री फूल बिक्री गरेर दुईलाख आम्दानी

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

सुर्खेत दैलेख राजमार्गको दायाबायाँ सयपत्री फूल फुलेका छन् । डुङ्गेश्वर गाउँपालिका–६ सिस्नेटारस्थित सो सडकमा सार्वजनिक यातायातमा आवत जावत गर्ने यात्रु ढकमक्क फुलेका दृश्य हेरेर मोहित हुन्छन् । निजी सवारी साधनमा यात्रा गरिरहेकाहरु त रोकेर मनमोहक सो दृश्यलाई समाजिक सञ्जाल टिकटक बनाउन एवं तस्विर लिन आतुर हुन्छन् ।कृषक देवेन्द्र गोदारले तीन रोपनी क्षेत्रफलमा लगाउनुभएको फूलखेतीले यात्रुको आँखा खिचेको हो । उहाँले वर्षदेखि फूलखेती गर्नुभएको हो । उहाँले भन्नुभयो “गतवर्ष नेपालगञ्ज–रुपैडियाबाट व्यापारीले फूल किनेको थाहा पाएपछि फूलखेती थालनी गरेँ ।”

उहाँले अघिल्लो वर्ष पनि दुई रोपनीमा सयपत्री फूल लगाउनुभएको थियो । उहाँले भन्नुभयो, “गतवर्षको फूल नोक्सानी बेहोर्नुपरेको थियो । त्यो अनुभवले यो वर्ष चाहिँ अलि ढिलो साउन अन्तिम सातामा लगाएकाले तिहारकै बेला ढकमक्क फुलेको छ ।” यस वर्ष कम्तीमा सात सय केजी फूल उत्पादन हुने र करिब रु दुई लाख आम्दानी हुने अनुमान उहाँले गर्नुभएको छ ।

कृषि विकास कार्यालय दैलेखका प्राविधिक गणेशबहादुर शाहील जिल्लामा फूलखेतीको संभावना राम्रो रहेको बताउनुभयो । किसान देवेन्द्रले व्यावसायिक तरकारी खेती गर्दै आउनुभएको छ । सडकको छेउमै भएकाले उत्पादन गरेको तरकारी जिल्ला सदरमुकाम दैलेख बजार, चुप्रा, डुङ्गेश्वर र सुर्खेतसम्म पनि पठाउन सजिलो समेत भएको छ । उहाँले तीन जनालाई रोजगारसमेत दिनुभएको छ । उहाँले भन्नुभयो, “ तरकारी खेतीबाट मनग्य आम्दानी लिन सकिन्छ । ”  रासस