सुनाखरी न्युज/ काठमाडौं।
नेपाल वायुसेवा निगमको जहाज 9N-ABUबाट कैलाली जिल्लाको टिकापुर विमानस्थलमा परीक्षण उडान (Test Flight)गरिएको छ । परीक्षण उडानको लागि जहाज नेपालगञ्जबाट स्थानीय समय अनुसार अपरान्ह १२ः४५ मा उडान भरी १३ः१५ मा टिकापुर विमानस्थलमा अवतरण भएको थियो ।
उक्त परीक्षण उडानमा नेपाल वायुसेवा निगम र नेपाल नागरिक उड्डयन प्राधिकरणका प्राविधिकहरुको संयुक्त टोली सम्मिलित रहेको थियो ।
उक्त कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुणकुमार चौधरी तथा नागरिक उन्मुक्ती पार्टीका नेता रेशम चौधरी लगायतको समुपस्थिति रहेको थियो ।
निगमसँग जहाजको उपलब्धता भएसँगै नेपालगञ्ज–टिकापुर–नेपालगञ्ज सेक्टरमा यथासक्य चाँडै नियमित उडान सञ्चालन गर्न निगमका कार्यकारी अध्यक्ष युबराज अधिकारीको विशेष निर्देशन रहेको छ ।