२०८१ मंसिर ७ , शुक्रवार

उत्तर कोरियाली विदेशमन्त्री रूसमा

Capture
सुनाखरी न्युज/ काठमाडौं।
उत्तर कोरियाली विदेशमन्त्री चोए सोन हुई मङ्गलबार आधिकारिक भ्रमणका क्रममा रूस आइपुग्नुभएको छ ।दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकाले प्योङयाङले हजारौँ सैनिकलाई रूसमा तालिमका लागि पठाएको दाबी गरेपछि उहाँ रुस पुग्नुभएको हो ।चोए रूसको सुदूर पूर्वी शहर भ्लाडिभोस्टकमा ओर्लनुभएको एक कूटनीतिक स्रोतलाई उद्धृत गर्दै तास समाचार एजेन्सीले बताएको छ । स्रोतले भनेको छ, “भोलि उहाँ मस्कोमा हुनुहुनेछ ।”रूसी समाचार एजेन्सीहरूले चोएले रूसी अधिकारीहरूसँग वार्ता गर्ने बताए पनि कोसँग गर्नुहुन्छ भन्नेबारे खुलाएनन् ।
वासिङ्टनले उत्तर कोरियाले १० हजार सैनिक रूसमा तालिमका लागि पठाएको र उनीहरूले सम्भवतः युक्रेनमा लडाइँ गर्ने बताएको छ । यसलाई सोलले ‘महत्त्वपूर्ण सुरक्षा खतरा’ का रूपमा वर्णन गरेको छ ।रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले उत्तर कोरियाली सैनिकहरू देशमा रहेको कुरालाई अस्वीकार गर्नुभएको छैन ।परम्परागत मित्र राष्ट्र रूस र उत्तर कोरियाले हालै सम्बन्धहरू बढाएका छन् । प्योङयाङका नेता किम जोङ उनले गत सेप्टेम्बरमा रूसको सुदूर पूर्वमा पुटिनसँग भेट्न दुर्लभ विदेश भ्रमण गर्नुभएको थियो ।
पुटिनले २४ वर्षमा पहिलो पटक एकान्त राष्ट्र उत्तर कोरियाको भ्रमण गर्दा जुनमा प्योङयाङमा किमसँग पारस्परिक रक्षा सन्धिमा हस्ताक्षर गर्नुभएको थियो ।विदेशमन्त्री चोएले यस वर्ष जनवरी र सेप्टेम्बरमा पनि रूसको भ्रमण गरिसक्नुभएको छ ।प्योङयाङस्थित रूसी दूतावासले चोएको पछिल्लो भ्रमण दुई देशका नेताहरूले जुनको भेटमा ‘रणनीतिक संवाद’ बढाउने सहमति गरेपछि भएको जनाएको छ ।
 रासस/ एएफपी