सुनाखरी न्युज/ काठमाडौं ।
सुर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री रवि लामिछानेसँग आज पनि बयान लिइँदै छ । रास्वपाका सभापति समेत रहेका लामिछानेसँग जिल्ला प्रहरी कार्यालय कास्कीमा बयान लिन थालिएको छ ।
मंगलबार बयान पुरा नभएको हुनाले आज बयान सक्नेगरी काम भइरहेको जिल्ला सरकारी वकिल कार्यालय कास्कीकी प्रमुख कमला काफ्लेले बताइन् ।कार्तिक १२ मा अनुसन्धान अधिकृत र सरकारी वकिलले साढे ८ घण्टा बयान लिएका थिए ।
अहिलेसम्मको बयानमा पूर्वगृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछानेले सुर्यदर्शनबाट ऋण लिएको तथ्य अस्वीकार गरेका छन् ।पोखरा महानगरपालिका वडा नम्बर–५ मा सञ्चालित सुर्यदर्शन सहकारीको सेयर सदस्य र ऋणी आफू नरहेको जिकिर गर्दै लामिछानेले भनेका छन्, ‘सुर्यदर्शनको सञ्चालक समिति, लेखा समिति, ऋण समिति वा अन्य कुनै पनि पदमा म थिइन् ।’