२०८१ पुष ९ , मंगलबार

पश्चिमी मेक्सिकोमा पत्रकारको गोली हानी हत्या

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

पश्चिमी मेक्सिकोमा मङ्गलबार राति एक पत्रकारको गोली हानी हत्या गरिएको स्थानीय अभियोजकको कार्यालयले जानकारी गराएको छ ।स्थानीय रेडियो स्टेसन ‘ला पोडेरोसा उरुपान’का सञ्चालक साथै ‘मिनुटो एक्स मिनुटो आउटलेट’मा पनि समाचार प्रकाशित गर्नुहुने मौरिसियो क्रुज सोलिसको उरुपान सहरमा गोली हानी हत्या गरिएको हो ।आक्रमणमा अर्का एक जना घाइते भएको अभियोजकको कार्यालयले जनाएको छ ।

क्रुज सोलिस कार्यरत रेडियो स्टेसनले सामाजिक सञ्जालमार्फत उहाँको हत्यामा शोक व्यक्त गरेको छ ।“मौरिसियो एक सहकर्मी भन्दा माथि हुनुहुन्थ्यो , उहाँ एक असल मित्र, प्रेरणाको स्रोत हुनुहुन्थ्यो”, रेडियोले जनाएको छ ।लागुऔषध तस्करीसँग सम्बन्धित हिंसाले ग्रस्त मेक्सिको पत्रकारहरूका लागि विश्वको सबैभन्दा खतरनाक देशमध्ये एक हो ।

सन् १९९४ देखि मेक्सिकोमा १५० भन्दा बढी पत्रकार मारिएको ‘रिपोर्टर्स विदाउट बोर्डर्स’ले जनाएको छ ।क्रुज सोलिसको हत्या अक्टोबर १ मा पदभार ग्रहण गर्नुभएको क्लाउडिया सेनबामको नेतृत्वमा रहेको सरकार गठनपछि पत्रकारको हत्या भएको यो पहिलो घटना हो ।

रासस/एएफपी