२०८१ कार्तिक १६ , शुक्रवार

कात्तिकमा मात्रै चारवटा गैँडा मृत भेटिए

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

चितवन राष्ट्रिय निकुञ्ज र आसपासको क्षेत्रमा चाडपर्वको समयमा चारवटा गैँडा मृत भेटिएका छन् । कात्तिक १ गतेदेखि आजसम्म निकुञ्जका विभिन्न क्षेत्रमा ती गैँडा मृत भेटिएका निकुञ्जले जनाएको छ ।निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार नवलपुरको मध्यविन्दु नगरपालिका–दाउन्नेदेवी मध्यवर्ती सामुदायिक वनमा अन्दाजी २० वर्षको पोथी गैँडा कात्तिक ५ गते मृत अवस्थामा भेटिएको जानकारी दिनुभयो । अनुसन्धानपछि उक्त गैँडा कालगतिले मरेको पाइएको उहाँले बताउनुभयो ।

कात्तिक ६ गते निकुञ्जको कलकत्ता टापुमा एउटा बच्चा र एउटा वयस्क गैँडा सडेगलेको अवस्थामा र कात्तिक १३ गते अन्दाजी २५ वर्षको पोथी गैँडा निकुञ्जको भिम्ले पोष्ट नजिक मृत अवस्थामा भेटिएको उहाँले बताउनुभयो । उक्त पोथी गैँडा दलदलमा फसेर मरेको अनुसन्धानबाट खुलेको उहाँले जानकारी दिनुभयो ।“चालु आर्थिक वर्षको साउनदेखि असोजसम्म छवटा गैँडा मरेका छन् । तीमध्ये एउटा करेन्ट लागेर र अन्य प्राकृतिक कारणले मरेका हुन् । यीसहित चालु आवको हालसम्म मात्र मृत भेटिएका गैँडाको सङ्ख्या १० पुगेको छ”, सूचना अधकारी मगरले भन्नुभयो ।

यसैबीच, निकुञ्ज र मध्यवर्ती क्षेत्रमा विभिन्न गतिविधि गर्ने १० जनालाई पक्राउ गरिएको निकुञ्ज कार्यालयले जनाएको छ । निकुञ्जले कात्तिक १ गतेदेखि हालसम्म उनीहरुलाई पक्राउ गरी कारबाही गरेको हो ।निकुञ्जका सूचना अधिकारी मगरका अनुसार अनुमतिविना निकुञ्ज क्षेत्रभित्र प्रवेश गर्ने तीन, बालुवा चोरीनिकासी गर्ने चार र तियारी जालको प्रयोग गरी माछा मार्ने तीनजनालाई पक्राउ गरी नियमानुसार कारबाही गरिएको छ ।  रासस