२०८१ मंसिर ९ , आइतवार

लक्ष्मीपूजाको दिन बिजुलीको उच्चमाग १६०२ मेगावाट रेकर्ड

Ktm Laxmi Puja

सुनाखरी न्युज/ काठमाडौं ।

तिहारको लक्ष्मीपूजाको दिन देश भित्रको विद्युत् उच्चमाग (पिक डिमाण्ड) १ हजार ६०२ मेगावाट रेकर्ड गरिएको छ । नेपाल विद्युत् प्राधिकरणले लक्ष्मीपूजाको दिन आइतबार साँझ ६ः२५ बजे पिक डिमाण्ड १ हजार ६०२ मेगावाट रेकर्ड गरिएको जनाएको हो ।

गत वर्षको २६ कात्तिकमा परेको लक्ष्मीपूजाको दिनको विद्युत् पिक डिमाण्ड १ हजार ४३८ मेगावाट थियो । गत वर्षको तुलनामा यस वर्ष लक्ष्मीपूजाको दिन पिक डिमाण्ड १६४ मेगावाट बढी हो ।

तिहारमा उद्योग, कलकारखानाहरु बन्द हुने भएकाले रेकर्ड गरिएको पिक डिमाण्ड औद्योगिक ग्राहक बाहेकको हो । लक्ष्मीपूजाको दिनको पिकको विद्युत् मागलाई देशभित्रैका विद्युत् गृहहरुबाट उत्पादन गरी आपूर्ति गरिएको थियो ।

देशभित्रको विद्युत् मागलाई पूरा गरी अतिरिक्त भएको २५३ मेगावाट विद्युत् पिक समयमा भारततर्फ निर्यात समेत गरिएको प्राधिकरणले जनाएको छ ।