सुनाखरी न्युज/ काठमाडौं।
रुपन्देही प्रहरीले पूर्व गृहमन्त्री रवि लामिछानेलाई उपस्थित गराउन कास्कीमा पत्र पठाएको छ । सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा कार्तिक २ मा पक्राउ परेका लामिछानेलाई अहिले जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखिएको छ ।
सूर्यदर्शनको रकम अपचलनबारे अनुसन्धान अधिकृतहरूले उनको बयान लिएका छन् । कार्तिक १४ मा बयान पुरा गरेर जिल्ला सरकारी वकिल कार्यालय कास्कीकी जिल्ला न्यायाधिवक्ता कमला काफ्ले र अनुसन्धान अधिकृत (डीएसपी) वसन्त शर्माले बयान प्रमाणित गरेका छन् ।
बुटवल स्थित सुप्रिम बचत तथा ऋण सहकारीको रकम अपचलनबारे अनुसन्धान गर्न लामिछानेलाई उपस्थित गराउन पत्राचार गरिएको रुपन्देहीका एसपी रञ्जित सिंह राठौरले बताए । उनले भने, ‘कास्कीमा पत्र पठाएका छौँ, पर्व बिदा सकिएपछि ल्याएर अनुसन्धान अघि बढाउँछौँ ।’
बुटवल स्थित सुप्रिम बचत तथा ऋण सहकारीबाट रास्वपाका सभापति लामिछानेको नाममा ऋण प्रवाह भएको भेटिएको छ ।