२०८१ पुष ९ , मंगलबार

१९ भारतीय कम्पनीलाई अमेरिकाको प्रतिबन्ध, रूसलाई सघाएको आरोप

narendra-modi-joe-biden

सुनाखरी न्युज/ काठमाडौं ।

अमेरिकाले भारतका १९ कम्पनीहरूलाई रूसमा हतियारसहित अन्य सामान आपूर्ति गरेको आरोपमा प्रतिबन्ध लगाएको छ ।
क्यानडासँग सम्बन्ध चिसिएको बेला अमेरिकाले भारतीय कम्पनी र दुई नागरिकलाई पनि प्रतिबन्ध लगाएको हो ।

यी कम्पनीहरूले २०२२ को फ्रेब्रुअरीमा युक्रेनमा रूसको हमलापछि रूसलाई हतियार लगायतका सामान आपूर्ति गरिरहेको अमेरिकाको आरोप छ ।

भारतका १९ कम्पनीसँगै रूस, चीन, मलेसिया, थाइल्याण्ड, टर्की र यूएई जस्ता दर्जनौं देशका ३९८ कम्पनीलाई पनि अमेरिकाले प्रतिबन्ध लगाएको हो । अमेरिकाको प्रतिबन्ध व्यहोर्नेमा धेरैजसो इलेक्ट्रोनिक सामान आपूर्ति गर्ने संस्था रहेका छन् भने केही विमान र अन्य मेसिनका पाटपूर्वा आपूर्ति गर्ने कम्पनी रहेका छन् ।

 

अमेरिकाले एक विज्ञप्ति जारी गर्दै आफ्नो स्टेट डिपार्टमेन्ट, ट्रेजरी डिपार्टमेन्ट र कमर्स डिपार्टमेन्टले यी व्यक्ति र कम्पनीमाथि प्रतिबन्ध लगाएको जनाएको छ।

भारतीय सञ्चार माध्यमका अनुसार यस्ता प्रतिबन्ध व्यहोरेका कम्पनीहरूलाई स्विफ्ट बैंकिङ प्रणालीमा ब्ल्याकलिस्टमा राखिन्छ । यो प्रतिबन्धपछि रूसविरुद्ध रहेका देशहरूमा ती कम्पनीहरूले कारोबार गर्न सक्दैनन् । साथै, ती देशमा प्रतिबन्धमा परेका कम्पनीहरूको सम्पत्ति बेचबिखनमा पनि रोक्का हुनसक्छ ।